नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म **‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’**को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
फिल्म आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका नेपाली तथा भुटानी निर्माता सहभागी थिए भने कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोली नेपाल आएको थियो।
डिजास्टर जनरामा निर्माण भएको फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको दुर्घटनापछि उत्पन्न संकट र त्यसबाट सिर्जना हुने परिस्थितिलाई केन्द्रमा राखिएको छ।
कृत्रिम सेटमा मात्र निर्भर नरही कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत फिल्मका महत्वपूर्ण दृश्य छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। करिब १०० दिनसम्म गरिएको छायांकनमा कथाको भौगोलिक परिवेश र दृश्यात्मक आवश्यकतालाई विशेष ध्यान दिइएको छ।
ट्रेलरमा सुरुङभित्रको दुर्घटना, त्यसपछि उत्पन्न संकट र पात्रहरूले सामना गर्नुपर्ने परिस्थितिलाई प्रस्तुत गरिएको छ। दृश्य प्रभाव तथा भीएफएक्सको प्रयोगले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको स्वरूप दिने प्रयास गरिएको देखिन्छ।
‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको DoMCIIP र निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्यमा फिल्म निर्माण भएको हो।
दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। खड्काले फिल्मको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान दिएका छन्।
फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय रहेको फिल्ममा प्रदीप खड्का कलाकारका रूपमा भने छैनन्।
ट्रेलर रिलिज कार्यक्रममा निर्माता निर्वाण चौधरीले फिल्म निर्माणमा साझेदार भएर काम गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्ना बुबा बिनोद चौधरीले चार दशकअघि फिल्म निर्माण गरेको स्मरण गर्दै आफूले पनि फिल्म निर्माणलाई निरन्तरता दिने बताए। नेपाल र भुटानको टोलीसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको उनको भनाइ थियो।
क्रिएटिभ प्रोड्युसर प्रदीप खड्काले निर्वाण चौधरीसँगै भुटानका कलाकार तथा प्राविधिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले आफू फिल्ममा निर्माताका रूपमा मात्र जोडिएको र कलाकारका रूपमा नरहेको स्पष्ट पारे।
मुख्य कलाकार तथा अर्का निर्माता सङ्गे छेल्ट्रिमले फिल्मलाई ठूलो स्तरमा निर्माण गरिएको दाबी गर्दै दर्शकलाई ढुक्क भएर हेर्न आग्रह गरे। उनले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फिल्मको कुल आम्दानीको २५ प्रतिशत अर्थात् आफ्नो सेयरबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा गरे।
निर्देशक डीडी किन्लेले फिल्मबारे धेरै बोल्नुभन्दा प्रदर्शनपछि दर्शकले नै हेरेर मूल्यांकन गर्ने बताए।
फिल्मको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुख छन्।
फिल्मको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन् भने करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो।
नेपालमा फिल्मको व्यवस्थापन लिभेन्ट्स स्टुडियो प्रा.लि.ले गरेको हो। सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।
फिल्मको टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो। निर्माण पक्षका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको ध्यानसमेत खिचेको थियो।
नेपाल र भुटानमा प्रदर्शनपछि फिल्मलाई एसिया, उत्तर अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।




