रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार युट्युबमार्फत करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरेको हो।
टिजरमा विजय बरालको पात्र बिके र एआईबीचको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। यस्तै, दयाहाङ राईको काजी र सिर्जना गुरुङले निर्वाह गरेको मैयाको इन्ट्री पनि टिजरमा देखाइएको छ।
विपीन कार्कीको इन्ट्रीले टिजरमा अर्को तह थपेको छ। उनको संवाद बोल्ने शैली र चरित्र प्रस्तुतिलाई विशेष रूपमा देखाइएको छ। अन्तिमतिर रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर टुंगिन्छ।
टिजर हेर्दा ‘कबड्डी ४ः द फाइनल म्याच’ जहाँ टुंगिएको थियो, त्यहीँबाट पाँचौँ शृङ्खलाको कथा अघि बढाइएको संकेत मिल्छ। निर्देशक गुरुङले पनि फिल्ममा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।
फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। मिरुना मगरको पात्रलाई भने निर्माण पक्षले अहिलेसम्म गोप्य राखेको छ। यसअघि पोस्टरमा पनि उनको पात्रलाई लुकाइएको थियो भने टिजरमा समेत उनको भूमिका सार्वजनिक गरिएको छैन।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता हुन्। फिल्ममा कालीप्रसाद बास्कोटा, आधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन्।