फिल्मी फण्डा । एक्सन किङ निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको नेपाली फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । फिल्मको टिजर र फस्र्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको ‘आचार्य’को गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको चासो थप बढेको छ ।
निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको फिल्मको ‘लै बरी लै’ गीतमा निखिल उप्रेतीसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई यस गीतमा भने रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।
निखिलले यसअघि पनि आफ्ना फिल्ममा एक्सनसँगै रोमान्टिक नम्बरमा आफूलाई प्रस्तुत गर्दै आएका थिए । यसपटक पनि उनी एक्सनसँगै रोमान्टिक अवतारमा देखिएका छन् । गीतमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
किरण थापाको कोरियोग्राफी रहेको यस गीतमा पुनम श्रेष्ठ र उपासना शाक्यले सहायक कोरियोग्राफरका रूपमा साथ दिएका छन् । डान्सर टिमको नेतृत्व देवराज सापकोटाले गरेका छन् । सौरभ लामाले छायांकन गरेको गीतमा रिजुन प्रधानले स्टाइलिस्ट तथा कस्ट्युम डिजाइनरको भूमिका निभाएका छन् । कलाकारहरूको मेकअप र हेयरको जिम्मेवारी सुवास तिमल्सिनाले सम्हालेका छन् । गीतलाई निकै भव्य रूपमा प्रस्तुत गरिएको छ ।
फिल्मको टिजर र फस्र्टलुक पोस्टर सार्वजनिक भएसँगै बजारमा चर्चा पाइरहेको ‘आचार्य’को ‘लै बरी लै’ सार्वजनिक भएपछि फिल्मको थप चर्चा भइरहेको छ । विशेषगरी एक्सन किङको परिचय बनाएका निखिललाई रोमान्टिक शैलीमा हेर्न पाउनु गीतको मुख्य आकर्षण बनेको छ ।
‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ । पूर्णिका यही फिल्ममार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।
फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन निर्देशन शुक्रराज शाहको छ । बन्दे प्रसादले सम्पादन गरेका छन् । फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै रहेको छ ।
एक्सन, रोमान्स र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको ‘आचार्य’ले सुरुवाती दिनमै बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्म असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।