फिल्मी फण्डा । फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि निर्माण टोली त्यही ठाउँमा पुगेको छ, जहाँबाट वास्तविक पेन्सन पट्टा जारी हुन्छ, भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखा।
फिल्मको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयमै निर्माण टोली पुगेपछि यो भेटघाट फिल्म क्षेत्रमा चासोको विषय बनेको छ। उक्त शाखाबाट नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको छ। पेन्सन पट्टा जारी गर्ने तथा त्यसमा भएका त्रुटि सच्याउने कामसमेत यही शाखाबाट हुने गर्दछ।
‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो। तर नेपालमा आएको विनाशकारी बाढीका कारण निर्माण पक्षले फिल्मसम्बन्धी भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रम तत्काल रोकेकाले भेटघाट केही ढिला भएको निर्माण पक्षले जनाएको छ।
भेटघाटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो। कर्मचारीहरूले फिल्म निर्माण भएकोमा बधाई तथा सफलताको शुभकामना दिएका थिए।
निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे। ‘मीठो नेपाली भाषा बोल्ने मेजर राहुल झा तथा भारतीय दूतावाससम्बद्ध कर्मचारीज्यूहरूले देखाउनुभएको आत्मीयताप्रति हार्दिक आभार,’ गुरुङले भने।
भेटघाटका क्रममा आफूले केही नयाँ जानकारीसमेत पाएको गुरुङले बताए। उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी १ लाख १९ हजार ५ सय ४ जना पेन्सनभोगी रहेका छन्। भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको उनले जानकारी पाए। ‘मलाई थाहै थिएन। आज थाहा भयो,’ गुरुङले भने।
यद्यपि, शाखामा भएको कुराकानीका क्रममा फिल्मको कथासँग सम्बन्धित के–कस्ता जानकारी प्राप्त भए भन्नेबारे गुरुङले खुलाउन चाहेनन्। ‘वर्षौंदेखि यही काम गर्नेहरूसँग बसेपछि थाहा हुन्छ, हामीले देखेको त सानो हिस्सा रहेछ,’ उनले भने, ‘बाँकी अहिले भन्दिनँ।’
फिल्मको कथामा पेन्सन पट्टा कसरी जोडिन्छ, त्यसमा कसको नाम आउँछ र त्यसपछि परिवारमा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने विषयमा पनि निर्माण पक्षले धेरै कुरा खुलाएको छैन। ‘त्यो हलमै हेर्नुहोला,’ गुरुङले मुस्कुराउँदै भने।
पेन्सनसम्बन्धी जानकारी तथा सेवाका लागि पेन्सनभोगी र उनका परिवारले मिलिटरी पेन्सन शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ। शाखाले वर्षभरि विभिन्न जिल्लामा पेन्सन शिविरसमेत सञ्चालन गर्दै आएको छ। शाखाको हेल्पलाइन नम्बर ०१–४००१५८३ तथा ह्वाट्सएप नम्बर ९८०८६०४१६० रहेको जनाइएको छ।
लामो समयको मेहनतपछि तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ अब प्रदर्शनको तयारीमा छ। फिल्म भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।
फिल्म प्रदर्शनसँगै दुईवटा कौतूहलको जवाफ पनि खुल्नेछ, निर्माण टोलीले पेन्सन शाखामा पुगेर वास्तवमा के सुनेको थियो र ‘पेन्सन पट्टा’को पर्दाभित्रको कथा कस्तो छ।