‘पेन्सन पट्टा’को टिजर सार्वजनिक, लाहुरे परिवारको भावनात्मक कथा उजागर

फिल्मी फण्डा । माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ।

सार्वजनिक टिजरले आफ्ना दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नभई बाबुको पहिलो पत्नीको नाम उल्लेख भएको थाहा पाएपछि सुरु हुने घटनाक्रमलाई देखाएको छ। पहिलो पत्नीको नामसमेत थाहा नभएको अवस्थाले निम्त्याएको अन्योल र त्यसले परिवारमा ल्याउने भावनात्मक उतारचढावलाई टिजरले मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरेको छ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौँचा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई र कुबिना गुरुङको अभिनय रहेको छ।

माओत्से गुरुङको कथा तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्मले लाहुरे जीवनबाट अवकाशपछि परिवार र समाजसँग जोडिएर बाँचिरहेका पात्रहरूको सम्बन्ध, भावना र संघर्षलाई केन्द्रमा राखेको छ।

यसअघि नै फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जनाएको थियो। अब टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ।

‘पेन्सन पट्टा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech