फिल्मी फण्डा। फिल्म ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र परिवारभित्रको उतारचढावलाई केन्द्रमा राखेको छ।
टिजरको सुरुवातमै हिउँवाला गौतमलाई मध्यरातमा घर छाडेर हिँड्दै गरेको देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न निस्किएको दृश्य प्रस्तुत गरिएको छ।
टिजरले पहिलो श्रृंखलाको कथाको निरन्तरता दिने संकेत गरे पनि केही नयाँ मोड समेटेको देखिन्छ। विशेषगरी साङ्लोले बाँधिएको अवस्थामा देखिएका आर्यन सिग्देलको रहस्यमयी उपस्थितिले कथाप्रति थप उत्सुकता जगाएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘झिँगेदाउ’को सिक्वेलका रूपमा तयार भएको हो।
फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन्। फिल्म आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा, नरेन्द्र थापा र आर्यन सिग्देलको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्म कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा बनेको हो।
फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। नेपालभर फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ।
टिजर सार्वजनिक कार्यक्रममा उपस्थित फिल्मकर्मीहरूले यसको पारिवारिक कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका थिए। पहिलो श्रृंखला ‘झिँगेदाउ’ले बक्स अफिसमा सफलता प्राप्त गरेकाले यसको सिक्वेलप्रति पनि दर्शकको अपेक्षा उच्च देखिएको छ।