निर शाह निर्देशित ‘कमला मिस’को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा। वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवनलाई केन्द्रमा राखिएको कथाको झल्को दिएको छ।

सार्वजनिक ट्रेलरमा भावनात्मक कथा, सामाजिक सन्देश र पात्रहरूको द्वन्द्वलाई प्रस्तुत गरिएको छ। प्रभावशाली संवाद र कलाकारहरूको अभिनयले ट्रेलरलाई थप आकर्षक बनाएको छ।

ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्मले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। दर्शकले कथावस्तु, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’ आगामी साउन २२ गते (अगस्ट ७)देखि देशभर प्रदर्शनमा आउनेछ।

फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई हुन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहेका छन्।

फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech