फिल्मी फण्डा। आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको पहिलो चलचित्र 'मास्टर्नी' को टिजर सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाट दर्शकले चलचित्रको कथावस्तुबारे केही अनुमान गरेका थिए। टिजरले भने आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले गर्न सक्ने संघर्षलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरेको छ।
एक लासबाट सुरु हुने टिजरमा "छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन" भन्ने संवादले कथाको मूल भाव उजागर गर्छ। यसले आफ्नी छोरीलाई बचाउन एक आमाले कति टाढासम्म जान सक्छिन् भन्ने विषयलाई केन्द्रमा राखेको संकेत गर्छ।
क्राइम थ्रिलर र पारिवारिक ड्रामाको मिश्रण रहेको चलचित्रको टिजरमा प्रमुख कलाकारहरू प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालाई प्रस्तुत गरिएको छ।
टिजरमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ तथा मुकेश शाहको ध्वनि मिश्रण रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताका रूपमा रहेका छन्।
भारतीय प्राविधिक टोलीले काम गरेको चलचित्रको पोस्ट–प्रोडक्सन नेपाल र भारत दुवै स्थानमा भइरहेको छ। चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ।
युवराज इन्दोरियाको छायांकन र राजा सिंह सिद्धुको सम्पादन रहेको चलचित्रमा रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको छ।
पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको चलचित्र नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ।
'मास्टर्नी' आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।