काठमाडौं। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ।
सार्वजनिक टिजरले बुवाको त्याग, परिवारमा आइपर्ने अप्रत्याशित विपत्ति र त्यसपछिको भावनात्मक संघर्षलाई केन्द्रमा राखेको छ। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादबाट सुरु हुने टिजरमा मुख्य पात्र दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन्। त्यसपछि परिवारका खुसीका क्षण र अचानक आइपरेको घटनाका दृश्यहरू प्रस्तुत गरिएको छ। घटनाको कारण भने टिजरमा गोप्य राखिएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वसन्त लम्साल हुन्। कुशे औँसीको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्दैछ।