फिल्मी फण्डा । धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ। ९० को दशकमा धरानमा जन्मिएका तथा लोकप्रिय बनेका विभिन्न ब्यान्ड र कलाकारका चर्चित गीतहरूलाई समेटेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आगामी असोज २० गते धरानस्थित भिन्टेज बार एण्ड क्लबमा विशेष सांगीतिक कार्यक्रम "नाइनटिज धरानेज लाइभ कन्सर्ट " आयोजना हुने भएको छ। कार्यक्रममा धरानको ९० दशकको सांगीतिक पुस्ताका चर्चित कलाकारहरू सञ्जीव लामा (मिक्स मेलोडी ब्याण्ड ), मनोज मोते (जेलर्स ब्याण्ड ), दिलु राई (ओझेल ब्याण्ड ) र रोहित मास्केको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा ती कलाकार तथा ब्यान्डसँग जोडिएका लोकप्रिय गीतहरू प्रत्यक्ष प्रस्तुत गरिनेछन्। सञ्जीव लामाले ‘बिर्सिएका यादहरूले , सम्झनाहरुलाई अंगाल्दै ,घुम्दै आउनु धरान बजार, मनोज मोते (जेलर्स ब्याण्ड ) को ’‘टाढा जाने प्रियसी’ ‘हाम्रो जीवन’,दिली राई तथा दिलु राई (ओझेल ब्याण्ड ) को ‘माछी पर्यो माझीको जालैमा’ र ‘उमेरले’ तथा रोहित मस्केका ‘मेरी मायालु’ र ‘चिसो चिसो’ जस्ता चर्चित गीतहरूले दर्शकलाई पुरानो सांगीतिक समयतर्फ फर्काउने अपेक्षा गरिएको छ।
९० को दशक धरानको सांगीतिक क्षेत्रमा निकै सक्रिय र सिर्जनात्मक समयका रूपमा स्मरण गरिन्छ। त्यस समयमा धरानमा थुप्रै कलाकार तथा ब्यान्डहरूले नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका थिए। त्यही पुस्ताका केही प्रतिनिधि कलाकार तथा ब्यान्डका लोकप्रिय सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई समेत धरानको पुरानो सांगीतिक विरासतसँग जोड्ने उद्देश्य कार्यक्रमको रहेको आयोजक पक्षले जनाएको छ।
कार्यक्रम पुरानो पुस्ताका दर्शकका लागि सम्झनाको यात्रा र नयाँ पुस्ताका लागि धरानको सांगीतिक इतिहास बुझ्ने अवसर बन्ने अपेक्षा गरिएको छ।
आयोजक सिल्भर इन्टरटेनमेन्टका अनुसार यो कार्यक्रमपछि पूर्वका विभिन्न शहरमा पनि सांगीतिक टुर आयोजना गर्ने तयारी भइरहेको छ। ९० दशकका चर्चित गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखेर अघि बढाइने उक्त टुरमार्फत पुराना लोकप्रिय गीतहरूलाई नयाँ पुस्तामाझ समेत पुर्याउने योजना रहेको आयोजकले जनाएको छ।
धरानको सांगीतिक पहिचानसँग जोडिएका कलाकारहरूको विशेष प्रस्तुति रहने भएकाले कार्यक्रमलाई ‘९०'s धरानेज ’को सांगीतिक सम्झना र पुनर्मिलनको विशेष साँझका रूपमा समेत हेरिएको छ।