नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङमा ‘आचार्य’

अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ प्रदर्शनको मिति नजिकिँदै गर्दा चर्चामा आएको छ।

काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ प्रदर्शनको मिति नजिकिँदै गर्दा चर्चामा आएको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि नेपालमा नम्बर १ ट्रेन्डिङमा आएको ‘आचार्य’ विभिन्न १३ देशमा समेत ट्रेन्डिङमा रहेको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षका अनुसार नेपालसहित यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया र दक्षिण कोरियामा फिल्मको ट्रेलर ट्रेन्डिङमा आएको हो।

नेपालमा नम्बर १ ट्रेन्डिङमा आउनुले नेपाली दर्शकमाझ फिल्मप्रति बढ्दो चासोलाई देखाएको निर्माण पक्षको भनाइ छ। ट्रेलर सार्वजनिक भएयता सामाजिक सञ्जालमा ‘आचार्य’को एक्सन, कथा, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको प्रस्तुतिलाई लिएर दर्शकले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

नेपालबाहिर रहेका नेपाली दर्शकमाझ पनि फिल्मको चर्चा बढेको छ। वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत ट्रेलर हेरेर प्रतिक्रिया जनाइरहेका छन्। नेपाली फिल्मप्रतिको चासो विदेशमा समेत विस्तार हुँदै गएको अवस्थामा १३ देशमा ट्रेन्डिङमा आउनुलाई निर्माण पक्षले सकारात्मक संकेतका रूपमा लिएको छ।

भारतमा समेत ‘आचार्य’को ट्रेलरलाई लिएर फिल्म पत्रकार, कलाकार तथा दर्शकमाझ चर्चा भइरहेको निर्माण पक्षको दाबी छ। भारतीय फिल्मकर्मी तथा दर्शकले नेपाली फिल्मको बदलिँदो स्तरसँगै ट्रेलरमा देखाइएको एक्सन र प्रस्तुतिबारे प्रतिक्रिया दिइरहेको जनाइएको छ।

ट्रेलरले नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङको चर्चा पाएपछि फिल्मको प्रदर्शनप्रति दर्शकको उत्सुकता थप बढेको छ। विशेषगरी लामो समयपछि निखिल उप्रेतीलाई एक्सनप्रधान भूमिकामा पर्दामा हेर्न पाउने भएकाले उनका फ्यानहरू फिल्मको प्रतीक्षामा छन्।

WhatsApp Image 2026-09-22 at 10.30.52.jpeg

ट्रेलरमा निखिललाई फरक एक्सन अवतारमा प्रस्तुत गरिएको छ। एक्सनसँगै पारिवारिक तथा सामाजिक कथावस्तुको झलकसमेत ट्रेलरमा देखाइएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताएका थिए।

नेपालमा नम्बर १ देखि १३ देशसम्म ट्रेन्डिङमा आएको चर्चाले ‘आचार्य’को अन्तर्राष्ट्रिय पहुँचबारे समेत चासो बढाएको छ। अब ट्रेलरले सिर्जना गरेको चर्चालाई फिल्मले हलमा कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषयमा दर्शकको चासो छ।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ निखिल उप्रेतीकै निर्देशनमा तयार भएको हो। फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

WhatsApp Image 2026-09-22 at 10.30.52.jpeg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech