‘पेन्सन पट्टा’ले पहिलो सातामै गर्‍यो ३ करोड ७९ लाखभन्दा बढी कमाइ

फिल्मी फण्डा ।  भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले पहिलो सातामा ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार प्रदर्शनको पहिलो सातासम्म चलचित्रले उक्त कारोबार गरेको हो। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको ‘पेन्सन पट्टा’ले पहिलो सातामै उत्साहजनक व्यापार गर्न सफल भएको छ।

पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तुका कारण चलचित्रले दर्शकको ध्यान खिचेको निर्माण पक्षको भनाइ छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सामाजिक सञ्जालमा भइरहेको चर्चाले चलचित्रको व्यापारमा थप सहयोग पुगेको जनाइएको छ।

चलचित्रले दोस्रो सातामा पनि देशभर उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। काठमाडौं उपत्यकासहित पूर्वी नेपालका विभिन्न हलमा समेत दर्शकको भिड देखिएको र अधिकांश हलमा चलचित्रले राम्रो शो तथा अकुपेन्सी कायम गरिरहेको बताइएको छ। दर्शकको बढ्दो चासोका कारण चलचित्रको प्रदर्शन अवधि र शो संख्या थपिने थपिएको छ।

चलचित्रको व्यापार उत्साहजनक बनेपछि निर्माण टोली पनि हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ। निर्माण टोलीले चलचित्रलाई साथ दिने दर्शक, प्रदर्शक तथा वितरकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि दर्शकको साथ निरन्तर रहने विश्वास व्यक्त गरेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech