सन् १९९२ मा स्थापना भएको नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हार्ट तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा जाने भएको छ। फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’ अन्तर्गत ब्यान्डले युरोपका विभिन्न देशमा लाइभ प्रस्तुति दिनेछ।
आठ सदस्यीय टोली सेप्टेम्बर २४ मा नेपालबाट युरोप प्रस्थान गर्ने तयारीमा छ। टोलीमा गायक राजु लामा, ब्यान्ड म्यानेजर तथा गिटारिस्ट बोबी लामा, ड्रमर सन्तोष थापा मगर, बास गिटारिस्ट पवन कपाली, लिड गिटारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तालवादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन र साउन्ड इन्जिनियर निरेन्द्र रञ्जित छन्।
ब्यान्डले सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया र अक्टोबर ५ मा पोर्चुगलमा प्रस्तुति दिनेछ। अक्टोबर ११ मा क्रोएसियामा पनि कार्यक्रम तय गरिएको छ। ब्यान्डको आधिकारिक इभेन्ट सूचीमा डेनमार्क, रोमानिया र पोर्चुगलका कार्यक्रम उल्लेख छन् भने डेनमार्कको कार्यक्रमलाई पहिलो युरोप टुरको हिस्सा भनिएको छ।
यो भ्रमणलाई सांगीतिक कार्यक्रमसँगै सामाजिक अभियानसँग पनि जोडिएको छ। गायक राजु लामाका अनुसार यात्राबाट प्राप्त रकमको केही हिस्सा रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा छुट्याइनेछ।
‘हामी संगीत लिएर युरोप जाँदैछौँ, तर हाम्रो यात्रा मनोरञ्जनमा मात्र सीमित छैन,’ लामाले भने, ‘विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हाम्रो पनि जिम्मेवारी छ। त्यसैले यात्राबाट उठेको रकममध्ये केही हिस्सा उहाँहरूको सहयोगमा प्रयोग गर्नेछौँ।’
ब्यान्ड म्यानेजर बोबी लामाले युरोपमा रहेका नेपाली समुदाय तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनले मंगोलियन हार्टसँगै नेपाली संगीतको उत्सव मनाउँदै बाढीपीडितको सहयोगमा पनि जोडिन आह्वान गरेका छन्।
सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टले नेपाली लोक, पप तथा रक संगीतलाई आफ्नो प्रस्तुतिमा समेट्दै आएको छ। डेनमार्कको आयोजक विवरणअनुसार ब्यान्डले यसअघि बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, हङकङ, इजरायल, भारत र यूएईलगायत देशमा प्रस्तुति दिइसकेको छ।