काठमाडौं । निर्माता रोहित अधिकारीले आफ्नो ब्यानर रोहित अधिकारी फिल्म्सबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन्। फिल्ममा अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङको जोडी तय भएको छ।
निर्माता अधिकारीले पल शाहलाई लिएर निर्माण गर्न लागेको फिल्मका लागि अभिनेत्रीका रूपमा जसिता गुरुङसँग सोमबार सम्झौता गरेका हुन्। फिल्म निर्देशनका लागि निर्देशक दिपेन्द्र लामासँग पनि सोमबार नै सम्झौता गरिएको रोहित अधिकारी फिल्म्सले जनाएको छ।
निर्माता अधिकारीका अनुसार यसअघि पल शाहसँग फिल्मका लागि मौखिक सहमति भइसकेको थियो। अब पल र जसिता पहिलोपटक जोडीका रूपमा पर्दामा देखिने भएका छन्।
फिल्मको शीर्षक भने तय भइसकेको छैन। हाल कास्ट एन्ड क्रिउ फाइनल गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकारलाई समेत छिट्टै अनुबन्ध गरेर फिल्म छायांकनमा लैजाने तयारी छ।
फिल्मको निर्देशन दिपेन्द्र लामाले गर्नेछन् भने निर्माण रोहित अधिकारीले गर्नेछन्। अन्य कलाकार तथा प्राविधिक टिमको टुंगो लागेपछि फिल्मबारे थप विवरण सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
यसैबीच, रोहित अधिकारी फिल्म्सले अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’पछि त्यसैको सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्ने यसअघि नै घोषणा गरिसकेको छ। उक्त फिल्मका लागि अनमोलसँग सम्झौतासमेत भइसकेको निर्माण पक्षले जनाएको छ।
रोहित अधिकारी फिल्म्सले एकैपटक फरक–फरक प्रोजेक्ट अघि बढाइरहेको छ। पल शाह र जसिता गुरुङको जोडी रहने फिल्मको शीर्षक, अन्य कलाकार तथा छायांकनसम्बन्धी विवरण भने क्रमशः सार्वजनिक गरिनेछ।