महिनावारी र छाउपडीको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )

फिल्मी फण्डा। सामाजिक यथार्थमा आधारित नेपाली फिल्म‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। २२ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

 

ट्रेलरले महिनावारीसम्बन्धी अन्धविश्वास र छाउपडी प्रथाको पीडालाई मुख्य कथावस्तु बनाएको छ। विशेषगरी महिनावारी भएका किशोरीलाई विद्यालय जान नदिने गलत मान्यता र छाउपडीका नाममा महिलामाथि हुने विभेदलाई फिल्मले उठाएको देखिन्छ। ट्रेलरमा छाउपडीको समयमा बुवा तथा घरका पुरुष सदस्यको अनुहारसमेत हेर्न नहुने भन्ने कुसंस्कारलाई समेत प्रस्तुत गरिएको छ।

 

पत्रकार सम्मेलनमा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको बताइन्। उनका अनुसार ‘हली’ले समाज परिवर्तनका लागि चेतना आवश्यक रहेको सन्देश दिन खोजेको छ।

 

‘देश परिवर्तन गर्न भाषण मात्र पर्याप्त हुँदैन। एउटा हलीले पनि परिवर्तनको सुरुआत गर्न सक्छ भन्ने सन्देश फिल्ममार्फत दिएका छौं,’ उनले भनिन्।

 

निर्देशक ओम प्रतिकले पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथासँग सम्बन्धित यथार्थलाई आधार बनाएर फिल्म निर्माण गरिएको बताए। समाज परिवर्तनका लागि चेतनाको विस्तार सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ थियो।

 

‘महिनावारी हुँदा पहिलो पटक छाउगोठमा राख्ने प्रचलनबाट प्रेरित भएर कथा तयार गरेका हौं। चेतना विस्तार गर्न सकियो भने समाज परिवर्तन सम्भव छ,’ उनले भने।

 

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ। पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्म आगामी २२ साउनदेखि देशभर प्रदर्शनमा आउनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech