फिल्मी फण्डा । भदौ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ ले आफ्नो प्रमोसनल गीत सार्वजनिक गरेको छ। तर गीत सार्वजनिक भएसँगै यसको प्रस्तुति र शैलीलाई लिएर सामाजिक सञ्जालमा चर्चा मात्र होइन, आलोचना पनि सुरु भएको छ।
दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीतमा गायिका वविना किरातीले साथ दिएकी छन्। निर्माण पक्षका अनुसार दुर्गेशले यो गीत अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीलाई उपहारस्वरूप फिल्मको प्रचारका लागि दिएका हुन्।
गीतको भिडियो प्रदीप लामाको कन्सेप्ट, कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको हो। भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देलको प्रस्तुति छ। पवन सुस्लिङको छायांकन, सम्पादन तथा कलर रहेको भिडियो दृश्यात्मक रूपमा आकर्षक देखिए पनि यसको प्रस्तुति भने निकै बोल्ड र यौन संकेतले भरिएको महसुस हुन्छ।
पछिल्ला वर्षहरूमा चलचित्रको प्रचारका लागि बोल्ड दृश्य, दोहोरो अर्थ लाग्ने शब्द र यौन संकेतयुक्त प्रस्तुतिलाई 'मार्केटिङ टुल' बनाउने प्रवृत्ति बढ्दै गएको छ। ‘मास्टर्नी’को यो गीत पनि त्यही रणनीतिको निरन्तरता जस्तो देखिन्छ। विशेषगरी युवालाई आकर्षित गर्ने उद्देश्यले तयार गरिएको जस्तो देखिने गीतले मनोरञ्जनभन्दा बढी उत्तेजना बेच्न खोजेको टिप्पणी पनि सामाजिक सञ्जालमा देखिन थालेको छ।
यस्ता गीतले युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा लाखौं भ्यु बटुल्न सक्लान्। भाइरल पनि हुन सक्लान्। तर प्रश्न के उठ्छ भने, के सामाजिक सञ्जालको लोकप्रियताले हलसम्म दर्शक तान्न सक्छ?
नेपाली फिल्म क्षेत्रमा पछिल्ला केही वर्षको अनुभवले सामाजिक सञ्जालमा भाइरल भएका सबै सामग्री बक्स अफिसमा सफल भएका छैनन् भन्ने देखाइसकेको छ। त्यसैले ‘मास्टर्नी’को यो बोल्ड प्रचार रणनीतिले अन्ततः टिकट बिक्रीमा कति प्रभाव पार्छ भन्ने उत्तर भने चलचित्र प्रदर्शनपछि मात्रै प्राप्त हुनेछ।
आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रणित कार्की हुन्। चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा प्रियंका कार्कीको हो भने पटकथा शान थापाले लेखेका हुन्।
अहिले भने फिल्मभन्दा यसको प्रमोसनल गीत नै चर्चाको केन्द्र बनेको छ। अब यो चर्चा केवल सामाजिक सञ्जालको ‘भ्यु’मा सीमित हुन्छ कि बक्स अफिसको टिकट काउन्टरसम्म पुग्छ, त्यसको जवाफ भदौ ५ पछि मात्रै स्पष्ट हुनेछ।