काजल कर्णको आरोपबारे निर्देशक दीपकप्रसाद आचार्यको खण्डन

फिल्मी फन्डा। ‘चिरञ्जीवी भवः’ फिल्मकी कलाकार काजल कर्णले सामाजिक सञ्जालमार्फत फिल्मको सुटिङ सेटमा आफूले मधेशी भएकै कारण विभेद, अपमान तथा दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएपछि निर्देशक दीपकप्रसाद आचार्यले उक्त आरोपप्रति आफ्नो धारणा सार्वजनिक गर्दै खण्डन गरेका छन्।

निर्देशक आचार्यले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आफ्नो लागि कुनै जातीय वा क्षेत्रीय समुदाय नभई ‘मानव समुदाय’ मात्र रहेको उल्लेख गर्दै काजलले लगाएका आरोपमा सत्यता नरहेको दाबी गरेका छन्।

उनले काजलको स्टाटस सार्वजनिक भएपछि आरोपित प्राविधिक तथा निर्माण टिमसँग छलफल गरिएको जानकारी दिँदै, यदि कुनै सदस्यबाट दुर्व्यवहार भएको पुष्टि भए दोषीमाथि एक सेकेन्ड पनि ढिलाइ नगरी कारबाही गरिने स्पष्ट पारे।

आचार्यका अनुसार काजलले आफूलाई सुटिङ सेटमा भएको भनिएको घटनाबारे कुनै जानकारी गराएकी थिइनन्। उनले कलाकार अनुशासनको विषय पनि उठाउँदै तोकिएको समयभन्दा ढिलो भएपछि करिब ७० सदस्यीय सुटिङ युनिट लामो समयसम्म पर्खिएको र अन्ततः सहायक निर्देशकमार्फत आफू नआउने सन्देश आएपछि सुटिङ अघि बढाइएको दाबी गरेका छन्।

पारिश्रमिकको विषयमा पनि उनले निर्माण पक्षसँग छलफल गर्दा डबिङपछि प्रदान गरिने तेस्रो किस्ता मात्र बाँकी रहेको जानकारी प्राप्त भएको उल्लेख गरेका छन्।

निर्देशक आचार्यले काजललाई कुनै समुदाय विशेषका आधारमा नभई पात्र सुहाउँदो भएकाले छनोट गरिएको दाबी गर्दै आफूले उनको स्टाटस पढेपछि मात्र उनी मधेशी समुदायकी कलाकार भएको थाहा पाएको बताएका छन्। उनका अनुसार फिल्म निर्माणमा जात, समुदाय वा क्षेत्रभन्दा पात्र र अभिनयलाई प्राथमिकता दिइन्छ।

कलाकारले भूमिका अनुसार विभिन्न चरित्र निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले गोबर सोहोर्ने, डोको बोक्ने वा अन्य कुनै श्रमसँग जोडिएका दृश्य अभिनयको हिस्सा मात्र भएको बताएका छन्। उनले सबै पेशाप्रति सम्मान रहेको उल्लेख गर्दै काजललाई त्यस्ता दृश्य मात्र गराइएको भन्ने आरोप पनि असत्य रहेको दाबी गरे।

आचार्यले काजलले फिल्ममा राम्रो अभिनय गरेको उल्लेख गर्दै उनले निर्वाह गरेका विभिन्न दृश्यका भिडियो फुटेज सुरक्षित रहेको र सम्पूर्ण भूमिका फिल्म प्रदर्शनपछि दर्शकले पनि देख्न पाउने बताएका छन्।

वक्तव्यको अन्त्यमा उनले केही विषयमा गलत बुझाइ भएको हुन सक्ने उल्लेख गर्दै आवश्यक परे काजलसँग छलफलका लागि आफूहरू तयार रहेको जनाएका छन्। साथै नेपाली फिल्म उद्योगका लागि राम्रो सिनेमा निर्माणमा सबैको सहयोग आवश्यक रहेको भन्दै काजल कर्णको आगामी कलाकारिता यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

यसअघि कलाकार काजल कर्णले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘चिरञ्जीवी भवः’ को सुटिङ सेटमा आफू मधेशी भएकै कारण अपमान, विभेदपूर्ण टिप्पणी, अनुचित व्यवहार तथा पारिश्रमिकसम्बन्धी समस्या भोग्नुपरेको आरोप लगाएकी थिइन्। उक्त आरोप सार्वजनिक भएपछि फिल्म क्षेत्र र सामाजिक सञ्जालमा यस विषयले व्यापक चर्चा पाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech