फिल्मी फण्डा । चर्चित कमेडियन सुमन कोइरालाले हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’बाट अभिनयमा डेब्यु गर्ने भएका छन्। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभमुहूर्त सम्पन्न भएसँगै छायाङ्कन असार २९ गतेदेखि सुरु हुने भएको छ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा निर्माण हुन लागेको फिल्मको निर्देशन समीरले गर्नेछन्। निर्देशक समीरले फिल्मले सुरुदेखि अन्त्यसम्म दर्शकलाई विशुद्ध हास्यव्यङ्ग्यात्मक मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्। निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले उत्कृष्ट पारिवारिक कमेडी फिल्म बनाउने लक्ष्य रहेको बताए भने कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीले समाजका रमाइला र ठट्यौली घटनालाई पर्दामा उतारिएको जानकारी दिए।
'दले दाइ'का नामले परिचित सुमन कोइरालासँगै फिल्ममा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मको छायाङ्कन विशाल कक्षपतिले गर्नेछन् भने संगीत अभिषेक कार्कीको रहनेछ। पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पारेका हुन्। निर्माण टिमका अनुसार ‘तिरिमिरी झ्याइँ’ पूर्ण मनोरञ्जनात्मक पारिवारिक कमेडीका रूपमा दर्शकमाझ प्रस्तुत हुनेछ।