पहिलोपटक नायक बन्दै प्रभात लामा, ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिका

फिल्मी फण्डा । लोकप्रिय कमेडियन प्रभात लामा अब पहिलोपटक नायकको रूपमा ठूलो पर्दामा देखिने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।

टेलिभिजन, डिजिटल प्लेटफर्म र विभिन्न मञ्चमार्फत आफ्नो कमेडीले लाखौँ दर्शकको मन जितेका प्रभातले यस फिल्ममार्फत नायकका रूपमा डेब्यु गर्न लागेका हुन्। फिल्ममा अनुबन्धित भएपछि उनले नयाँ भूमिकाप्रति उत्साहित रहेको बताएका छन्।

अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने फिल्मको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी छ। रघुनाथ सापकोटा निर्माता रहेको फिल्ममा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको पनि सशक्त उपस्थिति रहने निर्माण पक्षले जनाएको छ।

फिल्ममा पशुपति शर्माका गीत समावेश हुनेछन् भने छायाङ्कन संकल भुजेलले गर्नेछन्। यसअघि नै पशुपति शर्मा, परितोषिका पन्त र समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ले दर्शकलाई हाँसो, मनोरञ्जन र नयाँ स्वाद दिने विश्वास निर्देशक सापकोटाले व्यक्त गरेका छन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech