जापानी रेस्लर नेपाल आएर उत्साहित, ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न

फिली फण्डा । नेपालमा व्यावसायिक रेस्लिङको नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित आयोजित ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा सम्पन्न कार्यक्रममा उल्लेख्य दर्शक उपस्थितिका बीच अन्तर्राष्ट्रिय स्तरका रेस्लिङ प्रतिस्पर्धा र सांगीतिक प्रस्तुति आकर्षणका केन्द्र बने।

कार्यक्रममा सहभागी विश्वप्रसिद्ध जापानी रेस्लिङ लेजेन्ड तथा डब्लुडब्लुई हल अफ फेमर तात्सुमी फुजिनामी सहित लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवा ले नेपाली दर्शकको माया र उत्साहप्रति खुसी व्यक्त गर्दै भविष्यमा पनि नेपालसँग सहकार्य गर्न चाहेको बताएका छन्।

जापानी र नेपाली रेस्लरबीच भएको प्रतिस्पर्धामा नेपाली टोलीको नेतृत्व बुलेट फ्लो (थापाकाजी) ले गरेका थिए भने जोन ब्रीज र लिजार्ड किङ्ग लगायतका रेस्लरहरूको प्रदर्शनले दर्शकको उच्च प्रशंसा बटुल्यो। चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो।

पिग ई प्रोडक्सनको प्रस्तुति तथा नखिपोट युथ क्लबको सह–आयोजनामा सम्पन्न कार्यक्रमका निर्देशक तकाशी ताकेइ (टक बिष्ट) ले यस सफलताले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक रेस्लिङ आयोजना गर्ने सम्भावना अझ बलियो बनेको बताए।

आयोजकका अनुसार ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ ले नेपाल–जापानबीच खेल तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech