फिल्मी फण्डा । परिवर्तन नेपालको कार्यसमिति बैठकले यस वर्षको चेतन कार्की स्मृति पुरस्कार सञ्चारकर्मी कृष्ण भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ। चलचित्र क्षेत्रको विकास, विस्तार तथा पेशाकर्मीको उत्थानमा अढाई दशकभन्दा लामो पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
त्यस्तै, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार कलाकार शारदा गिरी र निर्देशक तथा कलाकार विश्वदिप घिमिरेलाई प्रदान गर्ने निर्णय गरिएको छ। लामो समयदेखि नेपाली चलचित्र, टेलिचलचित्र र रंगमञ्चमा पुर्याएको योगदानको सम्मानस्वरूप उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ। २०७३ सालमा स्थापना भएको दुवै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।
बैठकले लोकप्रिय अभिनेता आर्यन सिग्देल, आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ। साथै, छायाँकार वीरेन्द्र प्रसाद भट्ट र सञ्चारकर्मी सविता पोखरेललाई परिवर्तन विशेष सम्मान प्रदान गरिने भएको छ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको बैठकले यी सबै पुरस्कार तथा सम्मान श्रावणको तेस्रो सातामा आयोजित विशेष समारोहमा अर्पण गर्ने निर्णय गरेको जनाएको छ।