‘लोक दोहोरी स्टार–२’को देशव्यापी अडिसन सुरु हुँदै

फिल्मी फण्डा । नेपाली लोक सङ्गीतका नयाँ प्रतिभालाई राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ। एभेन्टोज स्टुडियोको आयोजनामा हुने शोको अडिसन सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन गरिनेछ।

शोको निर्णायकमा कोमल वली, राजु परियार र चन्द्र शर्मा रहनेछन्। आयोजकका अनुसार पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइएको हो।

अडिसन असार २७ गते इटहरीबाट सुरु भई असार २९ गते चितवन, असार ३१ गते बुटवल, श्रावण १ गते नेपालगञ्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौंमा सञ्चालन हुनेछ। इटहरीको क्लब के, चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्ट अडिसन स्थल तोकिएका छन्।

प्रतियोगितामा १६ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। परम्परागत लोक भाका, दोहोरी सिर्जना गर्ने क्षमता, स्पष्ट उच्चारण र प्रभावकारी प्रस्तुति दिन सक्ने प्रतिभालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech