फिल्मी फण्डा । छैटौँ संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ तथा नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६ विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गर्दै सम्पन्न भएको छ ।
स्टार वान इन्टरटेनमेन्ट प्रालि र एसबी क्रिएसन प्रालिको आयोजनामा सांस्कृतिक संस्थान (नाचघर)मा आयोजित समारोहमा संगीत, म्युजिक भिडियो, फेसन, मोडलिङ, मेकअप, हेयर तथा कस्मेटिक क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।
नेपाल म्युजिक एन्ड फेसन अवार्डमा २६ विधामा अवार्ड प्रदान गरिएको थियो । ‘किन रुनु हुन्न’ बाट प्रमोद खरेलले सर्वोत्कृष्ट आधुनिक गायक, ‘तिम्रो आँखाको’ बाट सोनी राजभण्डारीले आधुनिक गायिका तथा ‘गाजलु आँखैले’ बाट आशिष पौडेलले पप गायकको अवार्ड पाए । चलचित्र गीततर्फ ‘फकाउँछ काफ्ले’ बाट झुमा लिम्बू र लोकगीततर्फ ‘बुझे मैले’ बाट राधा हमाल बानियाँ विजेता बने ।
आदिवासी गीततर्फ ‘माङ्गेना लाजाम’ लोकप्रिय गीत घोषित भयो । लिम्बू भाषा तथा नेपाल भाषा संगीतका विभिन्न विधामा समेत अवार्ड प्रदान गरिएको थियो ।
फेसनतर्फ भावना कुमारी धनुक सर्वोत्कृष्ट फेसन डिजाइनर तथा परी बुटिक सर्वोत्कृष्ट बुटिक घोषित भए । यस्तै ब्युटी, मेकअप, हेयर, नेल आर्ट, मेहेन्दी, फेसियल, माइक्रोब्लेडिङलगायतका विधामा पनि अवार्ड प्रदान गरियो ।
समारोहमा ओएसआर डिजिटललाई चलचित्र एवम् संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मान तथा सामाजिक अभियन्ता अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियन्ता सम्मान प्रदान गरिएको थियो । वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालगायतको उपस्थिति रहेको समारोहमा विभिन्न कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए ।