फिल्मी फण्डा । चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष छनोट प्रक्रिया अघि बढिरहेका बेला निर्माता तथा निर्देशक अशोक शर्मा छनोट समितिको विज्ञ सदस्यमा नियुक्त भएका छन् ।
सञ्चार मन्त्रालयअन्तर्गतको छनोट समितिमा शर्मा विज्ञ सदस्यका रूपमा नियुक्त भएका हुन् । मन्त्रालय निकट स्रोतका अनुसार उनले केही दिनअघि नै नियुक्तिपत्र बुझिसकेका छन् ।
बोर्ड अध्यक्षका लागि आवेदन आह्वान भइसकेकाले अब प्राप्त आवेदनको अध्ययनपछि योग्य उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढ्नेछ । अध्यक्ष छनोटमा चलचित्र क्षेत्रमा लामो अनुभव भएका शर्माको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शर्मा यसअघि निर्माता संघको अध्यक्ष तथा चलचित्र संघ नेपालको महासचिवसमेत भइसकेका छन् । अभिनेता, निर्माता तथा निर्देशकका रूपमा सक्रिय उनले ‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘जय भोले’ र ‘रातो टीका निधारमा’ लगायतका फिल्म निर्देशन गरेका छन् ।
हाल उनी आफ्नै निर्देशनमा निर्माण भइरहेको ‘डबल ट्रिपल’को पोस्ट–प्रोडक्सनमा व्यस्त छन् । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, विल्सन विक्रम राई, माओत्से गुरुङ र बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।