फिल्मी फण्डा । एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘चमेलीको पोई’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको ट्रेलरमा पारिवारिक तथा सामाजिक कथावस्तुलाई हास्यरसका साथ प्रस्तुत गरिएको छ।
सार्वजनिक ट्रेलरमा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, विल्सन विक्रम राईलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। पूर्ण मनोरञ्जनलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक एभरेस्ट सूर्य बोहराले बताएका छन्। उनले फिल्मले दर्शकलाई रुवाउनेभन्दा पनि हँसाउने उद्देश्य राखेको बताए।
अभिनेता मुकुन भुसालले ‘चमेलीको पोई’ पूर्ण मनोरञ्जनात्मक फिल्म भएको बताए। फरक–फरक शैलीका फिल्ममा काम गर्ने क्रममा विशुद्ध मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको फिल्ममा आफू जोडिएको उनको भनाइ छ।
अभिनेत्री सुरक्षा पन्तले फिल्मले हँसाउँदा हँसाउँदै दर्शकको मन छुने र भावनात्मक रूपमा जोड्ने दाबी गरिन्। फिल्ममा उनी ‘चमेली’को भूमिकामा प्रस्तुत भएकी छन्।
करिब दुई दशकपछि नेपाली फिल्ममा कमब्याक गरेका नारायण त्रिपाठी कुनै समय नेपाली फिल्ममा हास्य कलाकारका रूपमा लोकप्रिय थिए। ‘चमेलीको पोई’मार्फत पुनः पर्दामा फर्किएका त्रिपाठीले फिल्म निकै राम्रो बनेको र यसले दर्शकलाई कतै हँसाउने तथा कतै भावनात्मक रूपमा जोड्ने बताए।
धनलक्ष्मी सिने मेक्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बाबिन राई, उमेश राई ‘फुलेन्देको आमा’ र खड्का बहादुर पुन मगर ‘खबापु’ लगायतका कलाकारको अभिनय छ।
फिल्मको पटकथा तथा संवाद एभरेस्ट सूर्य बोहरा र शिवम अधिकारीले लेखेका हुन्। सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्ममा उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता छन्।
शेरबहादुर तामाङको छायांकन, बन्देप्रसादको सम्पादन, कुमार महार्जनको एक्सन तथा साहस शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
‘चमेलीको पोई’ आगामी असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभरका हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।