‘कमेडी च्याम्पियन’ चौथो सिजन सुरु, नयाँ जज र नयाँ शैली

फिल्मी फण्डा । हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारणमा आएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते शनिबारदेखि शोको प्रसारण सुरु गरिएको हो ।

शोको ग्रान्ड प्रिमियरअन्तर्गत पहिलो एपिसोड हिमालय टेलिभिजनमा राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलबाट प्रसारण भएको छ । पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी अतिथिका रूपमा सहभागी थिए ।

चौथो सिजनमा जज प्यानलमा परिवर्तन गरिएको छ । अघिल्ला तीनै सिजनमा रहेकी ऋचा शर्मा निरन्तर छिन् भने यसपटक जितु नेपाल, बुद्धि तामाङ र निर्देशक विशाल भण्डारी जजका रूपमा जोडिएका छन् ।

निर्देशक भण्डारीका अनुसार नयाँ सिजनमा फरक जोक, नयाँ शैली र फ्रेस रोस्ट प्रस्तुत गर्न जज प्यानल परिवर्तन गरिएको हो । कार्यक्रम सञ्चालनमा मेक्सम गौडेल निरन्तर छन् भने रीमा विश्वकर्माको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ ।

करिब ३० एपिसोडसम्म सञ्चालन हुने शो थ्री प्रोडक्सनको प्रस्तुति हो । यसको प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन् ।

निर्देशक भण्डारीले ‘कमेडी च्याम्पियन’सँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै नयाँ प्रतिभाको यात्रालाई नजिकबाट देख्न पाउनु टिमका लागि गर्वको विषय भएको बताएका छन् । उनका अनुसार विभिन्न पृष्ठभूमिबाट आएका प्रतियोगीहरूले केही महिनाको निरन्तर मेहनतपछि आफ्नो पहिचान बनाउँदै कमेडी क्षेत्रमा करियर अघि बढाउने गरेका छन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech