‘मधेशी’ भन्दै रंगभेद र अपमान गरियो, फिल्मबाट हटाइयो’, अभिनेत्री काजल कर्णको गम्भीर आरोप

फिल्मी फण्डा । अभिनेत्री काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफूले मधेशी भएकै कारण रंगभेद, जातीय विभेद, मानसिक दुर्व्यवहार र अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै सार्वजनिक रूपमा गम्भीर आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै कर्णले सानैदेखि कलाकार बन्ने सपना बोकेर संघर्ष गर्दै नेपाली फिल्मसम्म पुगे पनि सेटभित्र आफूलाई कलाकारका रूपमा होइन, मधेशी पहिचानका आधारमा हेपिएको दाबी गरेकी छन्।

उनका अनुसार फिल्ममा अनुबन्धित भएपछि सुरुबाटै विभिन्न किसिमका अपमानजनक व्यवहार सहनुपरेको थियो। डिजाइनरले आफ्नो पोशाक आफैं व्यवस्था गर्न भनेको, प्रोडक्सन टोलीले छायांकन स्थलसम्म पुग्ने सामान्य व्यवस्थासमेत नगरेको र मेकअप रुममै अपमानित हुनुपरेको उनको भनाइ छ।

काजल कर्णका अनुसार सबैभन्दा पीडादायी अनुभव मेकअपका क्रममा भयो। उनले मेकअप आर्टिस्टले जानाजानी आफ्नो अनुहारमा कालो मेकअप लगाउँदै आफूलाई “आश्रममा काम गर्ने” र “गाई–गोठालो हेर्ने” पात्र भन्दै अपमान गरेको आरोप लगाएकी छन्।

यति मात्र नभई, केही प्राविधिकहरूले आफूलाई “यो मधेशी”, “मधेसेनी”, “तिमीहरूको रंग त यस्तै हुन्छ”, “तिम्रोतिर गाई–भैँसी कसरी बोलाउँछन्, देखाऊ त” जस्ता शब्द प्रयोग गरेर सार्वजनिक रूपमा हाँसोको पात्र बनाएको उनको दाबी छ। उनले यसलाई आफ्नो मधेशी पहिचानमाथिको सीधा आक्रमण र रंगभेदपूर्ण व्यवहारका रूपमा चित्रण गरेकी छन्।

कर्णका अनुसार स्क्रिप्टमा उल्लेख नभएका दृश्यहरू समेत जबर्जस्ती गराइयो। आफूलाई कलाकारको भूमिकाभन्दा बढी फोहोर उठाउने र कुचो लगाउने दृश्यमा प्रयोग गरिएको तथा दुई दिनसम्म श्रमिकसरह काम गराइएको उनको आरोप छ।

उनले पारिश्रमिक माग्दा पनि बेवास्ता गरिएको र पछि इटहरी छायांकनका लागि बोलाएर आफ्नो स्थानमा अर्कै कलाकार राखिएको दाबी गरेकी छन्। आफूलाई कुनै जानकारी नदिई फिल्मबाट हटाइएको तथा पछि केवल आफ्नो पोशाक लिनका लागि मात्र बोलाइएको जानकारी दिइएको उनको भनाइ छ।

“यो केवल मेरो भूमिका खोसिएको घटना होइन, नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच, रंगभेद र विभेदको नांगो रूप हो,” काजल कर्णले आफ्नो वक्तव्यमा उल्लेख गरेकी छन्।

उनले प्रश्न गरेकी छन्, “के मधेशी हुनु नै हाम्रो गल्ती हो? के आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?”

कर्णले आफूले सार्वजनिक गरेको अनुभव केवल व्यक्तिगत पीडा नभई नेपाली फिल्म क्षेत्रमा अवसर खोजिरहेका मधेशी कलाकारहरूले भोग्नुपर्ने यथार्थ भएको दाबी गरेकी छन्। साथै उनले यस्ता घटनाविरुद्ध आफू निरन्तर आवाज उठाइरहने बताएकी छन्। हालसम्म फिल्मका निर्माण टोलीले यस विषयमा कुनै प्रतिक्रिया वा आधिकारिक अभिव्यक्ति दिएका छैनन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech