फिल्मी फण्डा। करिब दुई दशकपछि 'दर्पण छायाँ' हिट जोडीको रुपमा कहलिएका अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई पुनः एउटै पर्दामा ल्याएको चलचित्र ‘सारथी’को मुख्य छायांकन सम्पन्न भएको छ। म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुर्जा खानी क्षेत्रमा एक महिनासम्म गरिएको छायांकन सकिएसँगै निर्माण टोली उत्साहित बनेको छ।
निर्देशक कुमार गजुरेलका अनुसार अब काठमाडौंमा एक दिनको छायांकन मात्र बाँकी रहेको छ। त्यसपछि चलचित्र पोस्ट–प्रोडक्सनमा प्रवेश गर्नेछ र प्रदर्शन मिति घोषणा गरिनेछ।
‘सारथी’ले केवल प्रेम र सामाजिक कथावस्तु मात्र नभई गुर्जा क्षेत्रको मौलिक संस्कृति, जनजीवन र पर्यटन सम्भावनालाई पनि पर्दामार्फत उजागर गर्ने प्रयास गरेको छ। चलचित्रमा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गायत्री जोशी, सम्रान्त थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन्। चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन्।