भिडियोमा हिट पल र मलिकाको जोडी, फिल्ममा पनि उस्तै जादु चल्ला त ?

फिल्मी फण्डा । नेपाली म्युजिक भिडियोका दर्शकमाझ निकै रुचाइएको ‘पिएम’ जोडी अर्थात् पल शाह र मलिका महत अब ठूलो पर्दामा एकसाथ देखिने भएका छन्। चर्चित गीत फुलबुट्टे सारी लगायतका दर्जनौं म्युजिक भिडियोमार्फत दर्शकको मन जितेको यो जोडीले अब चलचित्र आबाट आमा २ मा सहकार्य गर्दैछ।

म्युजिक भिडियोमा पल र मलिकाको केमेस्ट्रीलाई दर्शकले अत्यन्तै रुचाएका थिए। सामाजिक सञ्जालमा उनीहरूको जोडीलाई लिएर प्रशंसा मात्र होइन, फिल्ममा पनि एकसाथ हेर्न चाहेको माग लामो समयदेखि उठ्दै आएको थियो। आखिर दर्शकको यही चाहना पूरा गर्दै निर्देशक चन्द्र पन्तले मलिकालाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेका छन्।

तर अहिले फिल्मवृत्तमा एउटा रोचक चर्चा पनि सुरु भएको छ, म्युजिक भिडियोमा जादु देखाएको ‘पिएम’ जोडीले फिल्ममा पनि उस्तै प्रभाव छोड्न सक्ला त? किनकि तीन–चार मिनेटको भिडियोमा देखिएको आकर्षणलाई दुई घण्टाको कथामा निरन्तर कायम राख्नु चुनौतीपूर्ण मानिन्छ। दर्शकको अपेक्षा जति ठूलो छ, यो जोडीमाथिको दबाब पनि त्यत्तिकै देखिन्छ।

malika-aa bata aama.jpg

अर्कोतर्फ, पल शाहको स्टारडम र मलिका महतको बढ्दो लोकप्रियताले फिल्मलाई चर्चामा ल्याउन मद्दत पुग्ला। तर यिनै जोडीका कारण मात्र फिल्म हिट होला त भन्ने प्रश्न पनि उठिरहेको छ। त्यसैले धेरैको अनुमान छ, यदि कथा र प्रस्तुतिले साथ दियो भने ‘पिएम’ जोडीले म्युजिक भिडियोको सफलतालाई ठूलो पर्दामा पनि दोहोर्याउन सक्छ।

अब हेर्न बाँकी छ, दर्शकले म्युजिक भिडियोमा जस्तै यो जोडीलाई फिल्ममा पनि उत्तिकै माया गर्छन् कि फरक स्वाद खोज्छन्। तर यति भने निश्चित छ, आबाट आमा २ को आकर्षणमध्ये सबैभन्दा ठूलो केन्द्र अहिले पल–मलिकाको जोडी नै बनेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech