‘होस्टेल ३’को टिकट बुकिङ खुला, कस्तो होला त ओपनिङ ?

फिल्मी फण्डा ।  शुक्रवार रिलिज हुने फिल्मको लागि प्राय सोमवार वा मंगलवार देखि नै अग्रिम टिकट बुकिङ गर्ने गरिन्छ । ओपनिङ कै कारणले दर्शकले फिल्म हेर्ने र नहेर्ने सम्मको दृष्टिकोण निर्माण पनि गर्ने गरिन्छ । कुनै फिल्मले अग्रिम बुकिङमा व्यापाक शो पाउने गर्छ र ओपनिङ पनि राम्रो गर्ने गर्दछ । कुनै फिल्मले भने अग्रिम बुकिङमा कम शो पाएपनि ओपनिङसँगै शो बढाउँदै लगेको उदाहरण पनि छ । 

यहि क्रममा शुक्रवार रिलिज हुने नेपाली फिल्म  ‘होस्टेल ३’ को देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिममा बुकिङमा 'होस्टेल ३' लाई अधिकतम शो दिईएको छ । क्युएफएक्स सिनेमाजमा करिब ८० शो, आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो बुकिङ खुल्ला गरिएको छ । बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको निर्माण पक्षले दावी गरेका छन् ।

यस्तै बिहीबार दिउसोसम्म उक्त शो बढेर करिब २५० शो प्राप्त गर्ने अपेक्षा फिल्मले राखेको छ । बुकिङ शो संख्याको आधारमा हेर्ने हो भने फिल्मले राम्रो ओपनिङ गर्ने संकेत देखिन्छ । यद्धपि ओपनिङ कस्तो हुने हो बिहीवार रातिसम्ममा केही जानकारी आउनेछ । फिल्मका निर्माण टिमले भने फिल्मले ठूलो ओपनिङ गर्ने प्रक्षेपण गरेका छन् ।

‘होस्टेल’ शृङ्खलाका पहिलो र दोश्रो संस्करण बक्स अफिसमा सफल भएको थियो । यस कारणले पनि होस्टेल ३ सफल हुने निर्माण पक्षले अपेक्षा राखेको हो ।  फिल्म युवा पुस्ता लक्षित छ, यूवा दर्शकहरु बिच फिल्म लोकप्रिय हुने सम्भावना छ ।  ‘होस्टेल ३’ को प्रचार सामाग्रीहरुले सकारात्मक सञ्देश दिएको छ । दर्शकमा फिल्मले कौतुहलता प्रदान गरेको छ भने फिल्मको ट्रेलरमा समेत सकरात्मक प्रतिक्रिया बढि छ । यस कारण पनि अपेक्षासहित फिल्मको बुकिङ शो बढि दिएको वितरकले जनाएको छ ।  

हालसम्म फिल्मको ट्रेलर २१ लाख पटकभन्दन बढि हेरिएको छ । नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहेको ट्रेलर भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वका देशहरू सहित २० भन्दा धेरै देशमा ट्रेन्डिङमा आएको थियो । निर्माण टिमले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, सञ्चार माध्यमहरू तथा विभिन्न कार्यक्रमहरूमा प्रभावशाली प्रचार गरिरहेको छ । जसको कारण हल सञ्चालकहरू पनि सकारात्मक छन् । त्यस्तै, यस चलचित्रमा युवा कलाकारहरूको नयाँ टिम रहेको छ । 

सशान कँडेलले निर्देशक गरेको यस फिल्मको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा छन् ।

माधव शर्माले फिल्मको कथा लेखेका हुन् । उनले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । यस्तै सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । शङ्कर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री छन् ।

यम ओलीको प्रोडक्शन डिजाइन रहेको फिल्ममा प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले वितरण गर्दैछन् । फिल्ममा अर्जुन तिवारीले छायाँकन, विकास दाहालको सम्पादन र हिमाल केसीको द्धन्द्ध समावेश छ ।  अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत फिल्ममा रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech