फिल्मी फण्डा। महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म 'मायाबी'को ट्रेलर आज सार्वजनिक गरिएको छ। यो ट्रेलरमा नायक पल शाह र नायिका दीपिका प्रसाईसँगै कलाकारहरू सुशील सिटौला, करिश्मा श्रेष्ठ, र नव-नायक समिम खानलाई प्रमुख भूमिकामा देख्न सकिन्छ। फिल्मले पल र दीपिकाको प्रेमकथा, त्यसका उतारचढाव र वियोगको कथा प्रस्तुत गरेको छ। ट्रेलरमा समावेश केही संवादहरूले दर्शकको मनमा गहिरो प्रभाव पार्ने देखिन्छ।
यो फिल्म दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको हो। यसमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको छ। फिल्मको सह-निर्मातामा राजु पराजुली र सुमित वली, र कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन्।
प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिंखडा, संगीता सिलवालजस्ता कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्। फिल्मको डीओपी राजु विक्रम थापा, सम्पादन मिलन श्रेष्ठ, संगीत शम्भुजित बास्कोटा र एसडी योगीको छ। लाइन प्रोड्युसर राज कुमार कार्की रहेको फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी रहेको छ। ट्रेलर साहिल खानले तयार गरेका हुन्।
ट्रेलर रिलिज कार्यक्रममा फिल्मका कलाकारहरूले फिल्म निर्माणका दुख र रमाइलो अनुभवहरू साझा गरेका थिए। निर्देशक दिवाकर भट्टराईले फिल्म निर्माणको क्रममा सामना गरेका कठिनाइहरूको बारेमा बताउँदा धेरैको आँखा रसाएका थिए। उनले दर्शकलाई फिल्मले निराश नबनाउने र छाती खोलेर प्रिमियर गर्ने विश्वास व्यक्त गरेका छन्। पल शाहले सबैलाई आफ्नो प्रियजनसँग यो फिल्म हेर्न जाने आग्रह गरेका छन्। फिल्म ´ मायावी ` फाल्गुन १४ बाट देश व्यापी रुपमा प्रदर्शनमा आउदै छ ।