‘अञ्जिला’ को टिजर सार्वजनिक, महिला फुटबल कप्तानको प्रेरणादायी कथा

फिल्मी फण्डा। फागुन २९ गते प्रदर्शन हुने फिल्म ‘अञ्जिला’ को टिजर सार्वजनिक भएको छ। नेपालकी महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा को जीवनमा आधारित यो फिल्मले उनको संघर्ष, सपना, र सफलताको कथा बोकेको छ।

टिजरमा एञ्जिलाको बाल्यकालदेखि कप्तानसम्मको यात्रा देखाइएको छ। ‘अन्तर्राष्ट्रिय रूपमा देशलाई गौरवान्वित गर्ने निष्कलङ्क क्षेत्र खेलकुद नै हो’ भन्ने संवादले खेलकुदको महत्त्वलाई उजागर गर्छ।

फिल्ममा एञ्जिला आफैं मुख्य भूमिकामा देखिएकी छन्। उनका बाबु–आमाको भूमिकामा दयाहाङ राई र सृजना सुब्बा छन्। बाबु फुटबलको विपक्षमा छन्— ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भनेर आक्रोश पोख्छन्, तर आमा हौसला दिन्छिन्— ‘मलाई विश्वास छ, तँ फर्केर आउँदा तेरो पछि भीड लाग्नेछ’।

विद्यालयको एउटा भावनात्मक दृश्यमा एञ्जिलाले ‘अब फुटबल खेल्दिन भनेर बुबासँग पैसा मागेर ल्याएकी हुँ, मेरो ठाउँमा अरू कसैलाई खेलाउनु है’ भन्ने संवाद टिजरको प्रमुख आकर्षण बनेको छ।

निर्देशक मिलन चाम्स का अनुसार, ‘यो फिल्म एञ्जिलाको वास्तविक जीवनमा आधारित छ। उनले भोगेको संघर्ष र सफलता पर्दामा जस्ताको तस्तै उतारिएको छ।’

फिल्ममा सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ। मुन लभ इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल, र राजेश बगडिया छन्।

फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौं मा गरिएको हो। छायांकन निर्देशक सुदीप बराल, सम्पादन मिलन श्रेष्ठ, र निर्माण नियन्त्रक विनोद सुवेदी खत्री रहेका छन्।

फागुन २९ गते ‘अञ्जिला’ ले नेपाली सिनेमामा महिला खेलाडीको संघर्ष र सफलताको कथा लिएर आउँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech