फिल्मी फण्डा। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत ‘नेपाल हासेको…’ सार्वजनिक भएको छ। ‘लाज शरणम्’ फिल्मको यो गीतमा बालेनको स्वर, शब्द र संगीत छ। गीतले नेपालको सामाजिक अवस्था र विकासको चित्रण गर्छ।
गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्टलगायत कलाकारको अभिनय छ। गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियो चलचित्रको प्रवर्द्धनमा प्रभावकारी हुने निर्माण टिमको विश्वास छ।
बालेन मेयर बनेपछि सार्वजनिक भएको यो उनको पहिलो गीत हो। उनको लोकप्रियता र प्रभावले ‘लाज शरणम्’लाई थप चर्चा दिने अपेक्षा गरिएको छ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्र फागुन १४ गते महाशिवरात्रिमा रिलिज हुँदैछ। कुमार कट्टेल निर्देशित सिनेमामा सिताराम कट्टेल ‘धुर्मुस’को मुख्य भूमिका रहेको छ। कलाकार सूचीमा अर्जुन घिमिरे, सागर लम्साल, प्रियाना आचार्य, विजय बराल, अर्पण थापा, विजय लामा लगायतको नाम समेटिएको छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ यस वर्षको प्रतिक्षित चलचित्रमध्ये एक मानिएको छ।