फिल्मको वास्तविक कलेक्सन सार्वजनिक गर्दा हलवालहरुको टाउको दुखाई किन  ?

फिल्मी फण्डा । चलचित्र बिकास बोर्डले पछिल्लो बर्ष र गत आर्थिक बर्ष दुबैको बक्स अफिस नतिजा सार्वजनिक गरेको थियो । गत बर्ष कबड्डी ४ र गत आर्थिक बर्ष (०७९को असार देखि ०८०को साउन मसान्त सम्म) छक्का पञ्जा ४ ले सबैभन्दा धेरै कमाइ गरेको रिपोर्ट हामीहरुले समाचार मार्फत पाठकहरूलाई जानकारी गराएका थियौं । तर सधैं फेक कलेक्सन सार्वजनिक गर्दै आइरहेका निर्माताहरूलाई भने यस बिषयले तनाव दिन सुरु गरेको छ । केहि दिन अघि मात्रै नायिका करिष्मा मानन्धरले उनको प्रदर्शनरत फिल्म बगानको ४ दिने कलेक्सन सार्वजनिक गरेको भन्दै विकाश बोर्डको आलोचना गरेकी थिइन् । उनै करिष्मा लाई पच्छ्याउँदै हलवालहरुको साझा संस्था चलचित्र संघले विकाश बोर्डलाई पत्र नै लेख्दै फिल्महरूको कमाई सार्वजनिक नगरिदिन आग्रह गरेको छ । संघका अनुसार विकास बोर्ड संग उक्त अधिकारनै छैन । यदि बोर्डले पत्रको जवाफ नदिए कानुनी उपचारमा जाने संघले चेतावनी दिएको छ । 

निर्माताहरूले मिडियालाई दिने गरेको रिपोर्ट र विकाश बोर्डले सार्वजनिक गरेको रिपोर्टमा आकाश जमिन को फरक देखिने गरेको छ । आफ्नो फिल्मले राम्रो कमाइ गरेको झुठो हल्ला फैलाएर दर्शकलाई झुक्याउने निर्माताहरू अहिले मारमा परेका छन्, उनिहरुलाई छटपट्टि हुनु स्वभाविक हो । आज तमाम विदेशी फिल्म उद्योगले लाइभ ट्र्याकिङ सिस्टम मार्फत् हरेक सोजको कमाइ तुरुन्तै सार्वजनिक गर्छन् । तर नेपाली हलावालले भने कसैको कमाइ सार्वजनिक गर्ने अधिकार बोर्ड संग नभएको कु तर्क गरेको छ । आफुले पैसा तिरेर हेरेको फिल्मले कति ब्यापारमा गर्यो या आफुले हेर्न लागेको फिल्मले कति कमाइ गरीरहेको छ, त्यो जान्ने अधिकार सबै दर्शकको हुनुपर्ने हो । तर निर्माताले जस्तै हल पनि दर्शक झुक्याउन पाउनु पर्छ भन्दै बोर्डलाई दबाब दिइरहेको छ । अब बोर्ड चलचित्र संघको अगाडि झुक्छ या कानुनी लडाइमा जान्छ त्यो हेर्न बाँकि छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech