हलमा चल्न अघि नै डिजिटल राइट र देश–विदेशको वितरणबाट ‘छक्कापञ्जा ५’ ले उठायो लगानी

फिल्मी फण्डा । ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीमा नेपाल सहित विश्वव्यापी प्रदर्शन तयारीमा छ । केही मुलुकका वितरकले स्थानीय अनुकूलताअनुसार प्रदर्शन तय गरेका छन् ।

दशैं माहोलमा दीपकराज गिरी स्टारर फिल्मले नेपाल र विदेशमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण छ । यसबीच, ‘छक्कापञ्जा’को यो पाँचौं श्रृंखलाले प्रदर्शन अगावै विभिन्न अधिकार बिक्रीवापत लगानी सुनिश्चित गरेको छ ।

फिल्मले नेपाल, विदेश र डिजिटल राइट बिक्रीबाटै लगानी उठाएको निर्माण पक्षले बताएको छ । फिल्मको बजेट तीनदेखि साढे तीन करोड रुपैयाँसम्म बताइएको छ ।

भारत सहितका पाँच मुलुकमा अझै प्रदर्शन अधिकार बिक्री गर्न बाँकी छ । उत्तर अमेरिकामा प्याट्रिक सुवेदी, मध्यपूर्वसहित मलेसिया र माल्दिभ्समा रमेश ढकाल, अस्ट्रेलियामा देव कार्की लगायतले रिलिज गर्दैछन् । युरोप, जापान, हङकङ, सिंगापुर लगायतको राइट बिक्री भइसकेको छ । पहिलोपटक माल्दिभ्समा नेपाली फिल्म रिलिज हुन लागेको हो ।

फिल्मको चौथो श्रृंखलाले पनि डायस्पोरामा उछाल कमाइ गरेको थियो । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक सहित वर्षा सिवाकोटी, केदार घिमिरे माग्ने बुढा लगायतको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech