सन्नी देओलको ‘बोर्डर २’ मा वरुण धवन

फिल्मी फण्डा । बलिउड अभिनेता वरुण धवनले इन्स्टाग्राममा एक भिडियो सेयर गरेर फ्यानलाई सरप्राइज दिएका छन् । उनले सन्नी देओलसँग आगामी फिल्म ‘बोर्डर २’ मा स्क्रिन सेयर गर्ने पक्का भएको छ ।

देओलले हालै मात्र यो फिल्मको सिक्वेल घोषणा गरेका थिए । फिल्मलाई लिएर फ्यानमाझ उत्सुकता छ । वरुण यो प्रोजेक्टमा जोडिएपछि यसलाई लिएर थप कौतुहलता बढेको छ ।

२७ वर्षअघि स्टारले भरिएको फिल्म ‘बोर्डर’ हलमा आएको थियो । देशभक्तिको भावनासँग जोडिएको कारणले यो फिल्म अहिले पनि भारतीय दर्शकमाझ प्रिय छ । केही दिनअघि निर्माताले रिलिज मिति घोषणा गर्दै फिल्मको औपचारिक घोषणा गरेका थिए ।

धवनले इन्स्टाग्राममा ‘बोर्डर २’ को छोटो भिडियो सेयर गर्दै अब आफू पनि यसको हिस्सा भएको खुलासा गरेका छन् । भिडियोमा फिल्मको मार्मिक गीत ‘सन्देश आते हैं’ को शब्दबाट भिडियो सुरु भएको छ । भिडियोको अन्त्य वरुणको नाम उल्लेख छ ।

भिडियोमा फिल्मका केही दृश्य पनि समेटिएका छन् । क्याप्सनमा वरुणले फिल्म ‘बोर्डर’सँग सम्बन्धित आफ्नो अनुभव सेयर गर्दै लेखेका छन्, ‘म जतिबेला कक्षा ४ पढ्दै थिएँ, चन्दन सिनेमामा गएर ‘बोर्डर’ हेर्दा मलाई गहिरो प्रभाव परेको थियो । हामी सबैले हलमा महसुस गरेको राष्ट्रिय गौरवको भावना मलाई अझै याद छ । मैले हाम्रा सुरक्षा बललाई आदर्श मान्न सुरु गरें । आज पनि म उनीहरूलाई सलाम गर्छु कि उनीहरूले कसरी हाम्रो सुरक्षा गर्छन् र हामीलाई सुरक्षित राख्छन्, चाहे त्यो हाम्रो सीमामा होस् वा प्राकृतिक प्रकोपको बेला ।’

‘युद्धमाथि बनेको जेपी दत्त सरको यो फिल्म मेरो मनपर्ने फिल्ममध्ये एक हो । जेपी सर र भूषण कुमारले निर्माण गरेको बोर्डर २ मा भूमिका निर्वाह गर्नु मेरो करिअरको विशेष क्षण हो । मैले मेरो नायक सन्नी पाजीसँग काम गर्ने मौका पाएँ, जसले यसलाई अझ विशेष बनाएको छ,’ वरुणले अगाडि लेखेका छन्, ‘म एक बहादुर सिपाहीको कथालाई पर्दामा ल्याउन उत्सुक छु, जुन भारतको सबैभन्दा ठूलो युद्ध फिल्म बन्ने छ ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech