प्रिमियरमा ‘सतीदेवी’लाई प्रशंसा, नयाँ रेकर्ड बनाउन सक्ने चर्चा !

फिल्मी फण्डा । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सतीदेवी’लाई प्रिमियरमा प्रशंसा मिलेको छ । मंगलबार साँझ बिग मुभिजमा भएको प्रिमियरमा सहभागी अधिकांशले फिल्म हेरेपछि राम्रो बनेको भन्दै प्रशंसा गरेका हुन् ।

प्रिमियरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्व आइजीपी सर्वेन्द्र खनाल, मिरुना मगर, चैत्यदेवी सिंह, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, निर्देशन दीपेन्द्र लामा, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, अशोक शर्मा लगायत फिल्मकर्मी, सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रिमियरमा फिल्म हेरेका दर्शकले फिल्मले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको धारणा राखे । उनीहरुले निर्देशक लक्ष्मण सुवेदीको निर्देशकीय र अभिनेत्री मलिका महतको अभिनयको समेत प्रशंसा गरे ।

लक्ष्मण सुवेदी निर्देशित फिल्ममा मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । छोरीको कथामा निर्माण भएको फिल्ममा बाबु र छोरीबिचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोचविरुद्ध को संघष कथा छ । प्रिमियरमा निर्देशक सुवेदीले ‘सतीदेवी’ फिल्म नभएर एउटा क्रान्ति भएको बताए । 

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech