रामकृष्ण ढकाल र पाँच वर्षीया आर्या अभिनीत म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत मायाको घर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ। ुमायाको घरु एउटा सुमधुर गीत हो, जसमा समावेश बाबा र छोरीको कथाले दर्शकको मन छुन्छ। 

गीतको भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी छन्। यसमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन्। भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिकामा अभिनय गरेका छन्।

कार्यक्रममा ढकालले यो भिडियोको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए। निर्देशक सापकोटाले भिडियोमा हाम्रै समाजमा रहेको कथालाई उतारेको जनाइन्। उनले आफ्नो पहिलो निर्देशन रहेको जानकारी दिइन्। कलाकार आर्याले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिइन्।

विशेष अतिथिको रूपमा उपस्थित नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले म्युजिक भिडियोको सफलताको शुभकामना दिँदै नेपाली गीत सङ्गीत क्षेत्रमा गायक रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए। कार्यक्रममा गीतकार कँडेल, सङ्गीतकार लम्साल तथा अतिथिको रूपमा गायक द्वय यम बराल र हेमन्त शर्माको पनि उपस्थिति थियो। राई, शर्मा र बरालले संयुक्त रूपमा म्युजिक भिडियो सार्वजनिक गरेका थिए।

भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ भने क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech