केदार घिमिरे ‘माग्ने बुढा’ सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा अनुबन्धित

फिल्मी फण्डा। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ मा अनुबन्धित भएका  छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबिच सोमबार औपचारिक रूपमा सम्झौता भएको हो । निर्देशक सम्राट्ले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । 


राजिभ गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।


कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । 

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन् ।


फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अस्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) रहेको छ ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech