अल्लु अर्जुन बिरामी भएपछि रोकियो ‘पुष्पा २’ को छायांकन

फिल्मी फण्डा । सुकुमार निर्देशित ‘पुष्पाः द रुल’को  छायांकन रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भयो के भने फिल्मको महत्वपूर्ण प्लट जाथराको छायांकन गर्दा अभिनेता अल्लु अर्जुनको स्वास्थ्यमा असहजता पैदा भयो ।

यो दृश्यमा अर्जुनले महिलाको गेटअप भरमार एक्सन दृश्यको छायांकन गर्नुपर्ने थियो । लगत्तै एक गीतको सुटिङ गर्नुपर्दा अल्लुको ढाडमा असह्य पीडा भयो । उक्त गीतमा नृत्य गर्दा अल्लुले छायांकनलाई निरन्तरता दिन सकेनन् । त्यसपछि निर्देशक सुकुमारले अभिनेताको स्वास्थ्यको ख्याल राख्दै छायांकन ‘पोस्टपोन्ड’ गरिदिए ।

हैदराबादको रामोजी फिल्म स्टुडियोमा भइरहेको छायांकनमा अल्लुले जाथरा पहिरनमा डान्स र एक्सन दृश्य खिचिरहेका थिए । सबै कुरा ठीक भए बाँकी छायांकन डिसेम्बर दोस्रो सातादेखि पुनः सुरु हुनेछ ।

 ‘पुष्पा २’ को केही समयअघि रिलिज भएको पोस्टरमा अल्लु पुष्पराजको चरित्रमा देखिएका छन् । उक्त पोस्टरमा अल्लु जाथरा गेटअपमा देखिएका छन् । उक्त गेटअपमा उनी सारी र सुनको गहनामा देखिन्छन् । उनको अनुहार नीलो, रातो र हरियो रङले पोतिएको छ ।

यो फिल्ममा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीभली र फहाद फसिल भान्वर सिंह शेखावतको भूमिकामा छन् । पुष्पाको अघिल्लो भागलाई नेपालमा समेत रुचाइएको थियो । यो फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्‍यो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech