शब्द टाइप गरेकै भरमा गीत तयार पार्ने एआई म्युजिक ल्याउँदै युट्युव

फिल्मी फण्डा। युट्युवले एआई म्युजिक ल्याउने भएको छ । मंगलबार यसबारे घोषणा गर्दै उसले गुगलको डिपमाइन्ड एआई ल्याबमा यो प्रविधिको विकास भैरहेको जनाएको छ ।

युट्युवको यो परीक्षणमा सबैभन्दा रोचक (सबैभन्दा निराशजनक पनि) युट्युव सर्ट्सको ‘ड्रिम ट्रयाक’ हो । यो फिचरमा प्रयोगकर्ताले आफूले मनपर्ने गायकको नाम टाइप गरेपछि युट्युव एआई म्युजिकले उक्त गायकको आवाजमा गीत सिर्जना गरिदिनेछ ।

कुनै पपस्टारको आवाजमा सिर्जना हुने उक्त गीत ३० सेकेण्डको हुने जनाइएको छ । यो ड्रिम ट्रयाक फिचर ल्याउन युट्युवले ९ जना पप कलाकारसँग सम्झौता पनि गरेको छ जसमा एलेक बेन्जामिन, चार्ली पुथ, चार्ली एक्ससीएक्स, डेमी लोभाटो, जोन लिजेन्ड, पापुज, सीया, टी-पेन र ट्रोय सिभन छन् ।

‘एआई प्रविधिको विकासले संगीतलाई बुझ्ने तरिकामा द्रुतरुपमा परिवर्तन गरिरहेको छ । मलाई विश्वास छ कि कलाकारको रूपमा हामीले संगीतको भविष्य कस्तो देखिन्छ भनेर आकार दिनको लागि एक हिस्सा हुन आवश्यक छ’ लोभाटोले एक विज्ञप्तिमा भनेका छन्, ‘सबै सीमालाई पार गर्दै मेरो प्रशंसकका लागि रोचक गीत सिर्जना गर्ने मौका पाएको छु । म आशावादी छु कि गुगल र यूट्यूबको साथ यो प्रयोग सकारात्मक र ज्ञानवर्धक अनुभव हुनेछ ।’

‘ड्रीम ट्रयाक’लाई गुगल डिपमाइन्डको अहिलेसम्मकै संगीत जेनेरेसन मोडल भनिने भिडियो प्लेटफर्म लिरियाले संचालन गर्नेछ । अहिले यो सुविधा सीमित कलाकार र सिर्जनाकर्तामा मात्र लागू हुनेछ ।

युट्युवले केही कलाकारको यसबारेको भिडियो पनि सार्वजनिक गरेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech