दिमाग खराब: चुडिएको चप्पलले निम्त्याएको राजनीति (फिल्म समिक्षा)

फिल्मी फण्डा । नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्वतन्त्र पार्टी वा स्वतन्त्र रुपमा राजनीतिमा आएका व्यक्तिहरु सफल भइरहेका छन् । पूर्वको धरान होस् या देशको राजधानी काठमाडौं । यसका उदाहरण हुन् । चाहे संसदीय राजनीतिमा प्रवेश पाएका रास्वपा जस्ता दल । नेपाली राजनीतिमा देखिएको वितृष्णा, भ्रष्टचार, गरिबी, पराम्परागत शासकीय शैली, दलाल पुजीवाँद जस्ता समस्यालाई नेपाली राजनीतिले जहिल्यै पनि प्रशय दिई नै रह्यो । यसबाट आम नेपाली जनता आजित भइसकेका छन् । अझ भुईमान्छेहरुको जीवन नै नेपाली राजनीतिको असरले दिनदिनै पिल्सिरहेको छ । भुईमान्छे र नेपाली राजनीतिको सम्बन्ध, असर र रुपान्तरणको विषयलाई निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’बाट प्रस्तुत गरेका छन् ।

नेपाली राजनीतिमा अन्य कुनै पनि विकल्प बाँकी नभएपछि बालेन र हर्कहरु जन्मिए । आम मानिसको धैर्यताको बाँध टुटेपछि यसरी राजनीतिमा रुपान्तरणको विकासक्रम शुरु हुन्छ । निर्देशक निश्चल बस्नतेले फिल्म ‘दिमाग खराब’बाट रवि, बालेन र हर्कहरुको प्रवद्र्धन मात्र गरेका छैनन्, भविष्यमा आँफै राजनीतिमा आउने सोच सहित फिल्म निर्देशन गरेका हुन् भन्दा फरक पर्दैन । अझ यसरी भनौं, ‘दिमाग खराब’ नेपाली जनताका लागि मिशन चौरासी बनेर हलहलमा प्रदर्शन भइरहेको छ ।

तत्कालिन जनयुद्धको समयमा नेपाली फिल्मको अवस्था कमजोर बन्यो । निर्माण र प्रदर्शनमा यसले निरन्तर असर गरिरह्यो । यसको दुरगामी असर फिल्म क्षेत्रमा रहिरह्यो । २०६४ पछि पनि पाँच बर्षसम्म नेपाली फिल्मको प्रदर्शन र बजार निकै कमजोर रह्यो । निर्माताहरु फिल्म बनाउन हच्किएका थिए । फिल्मकर्मीहरुबिच फिल्म क्षेत्रमा संकट लागेको चर्चा शुरु भइरहेको थियो । यद्धपि चलचित्र विकास बोर्ड र सरकारले यस विषयमा कुनै औपचारिक संवाद र धारणा प्रस्तुत गरेका थिएनन् । सोही बेला तत्कालिन जनयुद्धका अभियानकर्ता रहेका माओवादी पार्टी र त्यसले निम्त्याएका समस्यामा पिल्सिएका समाजका पात्रहरुको जीवनलाई टिँपेर निर्माता नरेन्द्र महर्जन र माधव वाग्लेले फिल्म ‘लुट’ निर्माण गरे । फिल्मका निर्देशक थिए निश्चल बस्नेत । २०६९ पौष २७ गते प्रदर्शन भएको ‘लुट’ले व्यवसायिक रुपमा सफलता मात्र हात पारेन नेपाली फिल्म क्षेत्रमा नयाँ तरंग नै ल्यायो । ‘लुट’ले नेपाली फिल्मको धार नै परिवर्तन गरिदियो । नेपाली फिल्मको भाष्य नै परिवर्तन गराउन सफल निर्देशक बस्नेतले पछि ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरे । उनको निर्देशकीय छबि दुबै फिल्ममा देखिएपनि ‘लुट २’ व्यवसायिक रुपमा असफल बन्यो । त्यसपछि उनले फिल्म निर्देशनमा लामो विश्राम लिए । 

गएको निर्वाचनमा स्थानीय तहतर्फ काठमाडौंका मेयर बालेन शाह र संसदीय तर्फ रवि लामिछानेहरुलाई खुलेरै सहयोग गरेका निर्देशक बस्नेतले फिल्म ‘दिमाग खराब’ मार्फत त्यसको प्रवर्द्धन गर्नु आश्चर्य पक्कै होईन । ‘दिमाग खराब’मा रातो झण्डाको विरुद्धमा निलो झण्डालाई प्रवर्द्धन गरेको छ । रातो झण्डालाई ‘एन्टागोनिस्ट’ बनाइएको छ भने निलोलाई ‘प्रोटागोनिस्ट’ । लेखकमा आकाश बरालसँगै स्क्रिप्ट डक्टरमा निर्देशक मनोज पण्डित छन् । उनी हालका राजनीतिक पार्टी र प्रवृत्ती विरुद्ध अभियानमा लागेका व्यक्ति समेत हुन् । त्यसैले पनि फिल्ममा प्रत्यक्ष रुपमै स्वतन्त्र पार्टीहरुलाई प्रवद्र्धन हुनेगरि निलो झण्डाको प्रयोग गरिएको छ । फिल्मले राजनीति र प्रवृत्तीको विरुद्ध प्रखर बोलेपनि व्यवस्थाको विरुद्ध बोलेको छैन । त्यसैले पनि स्क्रिप्ट डक्टरको प्रभाव ‘दिमाग खराब’मा प्रशस्तै देखिन्छ ।

गरिबीको चपेटा परेका इन्द्र शर्मा (खगेन्द्र लामिछाने) छोरीलाई राम्रो स्कुलमा पढाउने, आमालाई औषधी उपचार गराउने र घर बनाउने सपना बोकेर वैदेशिक रोजगारीको लागि दुबई प्रस्थान गर्न खाली खुट्टै त्रिभुवन विमास्थल पुग्छन् । किसान व्यापारी भोला (दयाहाङ राई) सँग एक लाख पचहत्तर हजार ऋण बोकेर विदेश हिड्न लागेका उनी खाली खुट्टै विमानस्थल पुग्नु अपत्यारिलो लाग्छ । तर निर्देशक बस्नेतलाई त्यो पत्यार लाग्यो र उनले सोही प्रस्तुत गरे । हातमा भिजिट भिषा बोकेर वैदेशिक रोजगारीमा जान लागेका उनलाई अध्यागमन विभागले फर्काईदिन्छ । 

विदेश जान नपाएपछि गाउँ फर्केका इन्द्रको संघर्षका कथा त्यसपछि शुरु हुन्छ । विदेश जान उनले हिम्मत हारेका छैनन् । बरु त्यसका लागि उनले विभन्न चूनौतीहरुको सामना गर्छन् । बाल्यकालको साथी भोला उनका ऋण साँहु भएपनि उनको संघर्षका सारथी पनि हुन् । मेयर हरि प्रसाद (अर्पण थापा) ले सहयोग गरे आफु विदेश जान पाउने कुराले इन्द्रले उनलाई भेट्न अनेकन प्रयत्न मात्र गर्दैनन्, हरि प्रसादका लागि सय भोट खोज्न समेत तयार हुन्छन् । सय भोट खोजेर हरि प्रासदको पार्टी प्रवेश गर्न लागेका इन्द्रले जब युट्युबर निरज कँडेल (सुमन कार्की)को प्रश्नसँगै आफुलाई फ्रि भिषा र फ्रि टिकटमा वैदेशिक रोजगारी भनेर पैसा ठगेर भिजिट भिषा दिएको मेन पावर (आफुलाई ठग्ने) हरिप्रसादकै रहेको थाहा पाउँछ । तब उनले पटक–पटक चुडिएर आँगोले जोडेको चप्पलले हरि प्रसादलाई नै चड्काउँछन् । त्यसपछि हरि प्रसादका पिए बले (बिजय बराल) ले मच्चाउने आतंक र अनेकन समस्याका कारण हरिप्रसादसँग माफी माग्ने तयारीका साथ गएका इन्द्रले सोही मञ्चबाट आफु स्वतन्त्र रुपमा मेयरमा उठ्ने घोषणा गर्छ ।

इन्द्रको अभियानमा सामेल भएका भोला, हरिप्रसादसँग पौठेजोरी खोजेकै कारण घर छाँडेकी इन्द्रका श्रीमति साँचि (स्वस्तिमा खड्का) र इन्द्रमा आईपर्ने समस्याहरुसँगै फिल्म अघि बढ्छ । इन्द्र मेयरमा जित्छन् कि जित्दैनन् ? हरि प्रसादले इन्द्र विरुद्ध र उनको अभियानलाई सकाउन के गर्छन ? साँची घर फर्केर आउँछन् की आउँदैनन् ? यही प्रश्नहरुको उत्तरमा फिल्म सकिन्छ र त्यो थाहा पाउन भने ‘दिमाग खराब’ हेर्नुपर्ने हुन्छ । 

‘लुट’ निर्देशन गरेका बस्नेतले ‘लुट’ शैलीलाई ‘दिमाग खराब’मा पनि पछ्याएका छन् । दिमाग खराबको कथा सोच्दै गर्दा या फिल्म निर्देशन गर्दैगर्दा बस्नेत ‘कबड्डी’ सिरिज र ‘छक्का पञ्जा’ सिरिजको ह्याङग ओभरमा देखिन्छ । त्यसको गन्ध ‘दिमाग खराब’मा प्रशस्त छ । इन्द्रमा शुरुदेखि नै राजनीतिक चेतना नदेखाउनु र आवेग मात्र देखाउनु कमजोर पक्ष हो । निर्देशक आफै हिरोइजम शैलीमा अभिनयमा देखिएका छन् । अभिनयबाट फिल्ममा निर्देशक पन्छिएको भए अझ राम्रो हुने थियो । अचेत अवस्थासम्म कुटिएका इन्द्रलाई प्रहरीको बीचबाट सामाजिक अभियन्ता निरजले अस्पताल पुराउनु र अस्पतालबाटै उठाएर प्रहरीले कष्टडीमा पुराउनु सान्दर्भिक लाग्दैन । संभवत कानूनमा त्यस्तो नहोला पनि । एयरपोर्टमा जुत्ता दिने भाई इन्द्रका गाउँसम्म आउनु, इन्द्रको समस्यामा रक्षक बनेर देखिनु र उनले गरेको सहयोगको स्वार्थ, उद्देश्य र सम्बन्ध प्रष्ट देखाउन सकेको छैन । बलेको गर्लफ्रेण्डको बाध्यतालाई संवादमा भनिएको छ । जसको कारण मूल कथाले ठूलै समस्याबाट लय समाउन सफल हुन्छ । तर त्यस्तो पात्रको बाध्यतालाई निर्देशकले प्रष्ट्याउन सकेको छैन । गाउँघरमा घर जलिरहँदा इन्द्रको परिवाको चित्कार कसैले नसुन्नु अपत्यारिलो छ ।

फिल्मलाई ट्विस्ट बनाउनकै लागि निरन्तर ट्विस्ट माथी ट्विस्ट फिल्मको लम्बाई बढाउन प्रयोग गरेको मात्रै देखिन्छ । त्यसलाई कम गरेर पनि निर्देशकले कथा बन्न सक्ने ठाउँ थियो । ‘दिमाग खराब’मा निर्देशकले दर्शकसँग अर्को चिट गरेका छन्, फिल्मको भनिएर सार्वजनिक गरिएको गीत फिल्ममा राखेका छैनन् । ‘झम्के झमाझम..’ गीतकै माध्यमबाट ‘दिमाग खराब’ हेर्न हल पुगेका दर्शकले उक्त गीतलाई ठूलो पर्दामा हेर्न नै पाउँदैनन् । निर्देशकले त्यसलाई कास्टिङमा प्रयोग गर्न सक्थे त्यो समेत गरेका छैनन् । फिल्ममा राखिएको एउटा संवाद छ, पानीको बेल एकातिर बगेको छ, डुँङगा अर्कोतिर चलाएर हुँदैन । मूल कथाले बेला बेलामा आफ्नो भेऊ पाउँदैन र पटकथाहरुले लयमा ल्याईदिन्छ । यस्तै ‘दिमाग खराब’मा समस्याको चाङ पक्कै छ । तर पनि निर्देशक बस्नेतले निर्देशकीय कलालाई राम्रैसँग प्रस्तुत गरेका छन् । समग्रमा ‘दिमाग खराब’ राम्रो फिल्म बनेको छ ।

फिल्मको मूल कथा भन्दा पात्रहरुसँगै जोडिएका पटकथाहरु बलिया छन् । फिल्म हेरिरहँदा दर्शकलाई लगातार कौतुहलता भइरहन्छ । यसले दर्शकलाई फिल्मसँगै बाँधेर राख्ने काम गरेको छ । त्यसको लागि निर्देशक बस्नेतले पात्रको प्रस्तुती, समस्या र समाधानमा लगातार ट्विस्ट राखेका छन् । कथा प्रस्तुतको पृष्ठभूमिमा बज्ने ‘हजुरी’ र ‘विरामी मुलुकमा’ जस्ता गीतले फिल्मलाई न्याय गरेको छ । फिल्मको एउटा दृश्यमा इन्द्र बाहिरबाट र साँची भित्रबाट माथील्लो पट्टि ह्वाङग भएको ढोकाबाट नियालेको देखिन्छ । यसले लोग्ने स्वास्नीको बाउण्ड्रीलाई दरिलोसँग कँसेको दर्शाएको छ । अध्याँरोबाट उज्यालोतर्फ पुग्न सकिन्छ र कहिले काहीँ उज्यालोमा अध्याँरो छाउन पनि सक्छ भने संकेत प्रस्तुत गरेको छ । जुन ‘दिमाग खराब’सँग तालमेल पनि मिल्छ ।

फिल्मको ब्याकराउण्ड स्कोर बलियो छ । फिल्ममा कलर ग्रेडिङ, सम्पादन र सिनेमाटोग्राफी पक्ष औसत छ । फिल्मका मूख्य पात्र इन्द्र अर्थात खगेन्द्र लामिछाने छन् । उनको अभिनय औसत छ । उनलाई सबै फिल्ममा उस्तै देखिन्छ, दिमाग खराबमा पनि । दयाहाङ राईको अभिनय पनि औसत नै छ । बिजय बराललाई दिमाग खराबमा केही गरि बिर्सन्न सकिन्न । नेगेटिभ रोलमा जम्न सक्ने आधार बरालले देखाएका छन् ।  अर्पण थापालाई नेगेटिभ रोलमा जबरजस्ट देखिन्छ । उनको अभिनय तारिफ योग्य नै छ । आफूलाई फरक–फरक पात्रमा प्रस्तुत गर्न सक्षम देखिएकी स्वस्तिमाले ‘दिमाग खराब’मा पनि त्यो साबित गरेकी छन् । उनको अभिनयले फिल्ममा प्राण भरेकी छन् । फिल्ममा सौगात मल्ल नरहेपनि अन्तमा उनको आवाज सुन्न सकिन्छ । आँफैले अभिनय गरेको बाहेक निर्देशक निश्चल बस्नेतको निर्देशकीय पाटो प्रशंसनीय छ । ‘लुट’ हेरेका दर्शकलाई उनले निराश बनाएका छैनन् ।  

रेटिङ : ३/५
निर्देशक : निश्चल बस्नेत
लेखक : आकाश बराल
ब्यानर : सिनेमा आर्ट/ब्ल्याक हर्स पिक्चर्स
निर्माता : रौनक विक्रम कँडेल
मूख्य कलाकार : खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल आदि

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech