डबिङमा व्यस्त प्रदीप र सनीशाको ‘शुभ विवाह’

काठमाडौं । आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘शुभ विवाह’को डबिङ धमाधम भइरहेको छ । सुदर्शन थापा निर्देशित फिल्मका मुख्य कलाकार प्रदीप खड्का, सनीशा भट्टराईसहित अन्य कलाकार डबिङमा व्यस्त छन् ।

सुपरहिट फिल्म ‘प्रेम गीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच लामो समयपछि यसै फिल्ममार्फत पुनर्मिलन भएको हो ।

फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ ।

प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् । प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वाँरको नृत्य निर्देशन र साहिल खानको ट्रेलर सम्पादन रहेको छ ।

बुढासुब्बा डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने भीष्म फिल्म्स् र श्री राम बालाजीले वितरण गर्नेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech