लेजर प्रोजेक्टरदेखि लक्जरी सिटसम्म, बदलियो बिग मुभिज

5.jpg दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि भित्र्याएको छ । नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्सका रूपमा परिचित बिग मुभिजले हलको व्यापक रिनोभेसन गर्दै अन्तर्राष्ट्रियस्तरका प्रविधि र सुविधा थपेको हो ।

‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्स’ नारालाई सार्थक बनाउने उद्देश्यसहित बिग मुभिजले दृश्य प्रविधि, ध्वनि प्रणाली, सिटिङ र हलको समग्र वातावरणमा स्तरोन्नति गरेको छ ।

बिग मुभिजले दृश्य प्रविधितर्फ युरोपेली ब्रान्ड बारकोको ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ । बारको एसपी४के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्स ब्राइटनेस र ४के (४०९६ × २१६०) नेटिभ रिजोलुसन रहेको छ । पर्दामा दृश्यलाई स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो लगानीमा यो प्रोजेक्टर जडान गरेको जनाएको छ ।

त्यस्तै, चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरका रङ देखाउन ९८.५ प्रतिशतभन्दा बढी आरईसी २०२० र डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ । दृश्यलाई थप स्पष्ट र आकर्षक बनाउन हलमा विशेष सिल्भर स्क्रिनसमेत राखिएका छन् ।

ध्वनि प्रणालीतर्फ बिग मुभिजले ६४ च्यानलको डल्बी एटमस थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरेको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक यस प्रविधिमा प्रत्येक स्पिकरलाई स्वतन्त्र अडियो फिड उपलब्ध गराइन्छ ।

हलको माथिल्लो भाग र चारैतिर जडान गरिएका स्पिकर तथा सीपी–५ए साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म साउन्ड अब्जेक्ट नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ । यसले दर्शकलाई चारैतिरबाट ध्वनि आएको अनुभूति गराउँछ । विशेषगरी एक्सन तथा ध्वनि प्रधान फिल्म हेर्दा दर्शकले थप रोमाञ्चक अनुभव लिन सक्नेछन् ।

दर्शकको आरामलाई ध्यानमा राख्दै हलमा लक्जरी तथा एर्गोनोमिक प्रिमियम सिटिङको व्यवस्था गरिएको छ । त्यहाँ २२ इन्चका ‘च्याम्पियन सिरिज’का २५५ वटा थिएटर कुर्सी राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक डिजाइन, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा रहेको छ ।

त्यसैगरी, थप विलासी अनुभवका लागि २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलरका २९ वटा रिक्लाइनर पनि जडान गरिएको छ ।

हलभित्र नयाँ कार्पेटिङ, अकुस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी वातावरणलाई पूर्ण रूपमा परिवर्तन गरिएको बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले बिग मुभिजले आफ्नो इतिहास र पहिचान कायम राख्दै प्रविधि तथा सुविधामा नयाँ स्तर स्थापित गर्न खोजेको बताए ।

“नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रिनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ । अब बिग मुभिजमा फिल्म हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन,” उनले भने, “यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ ।”

अर्यालका अनुसार बिग मुभिजमा अब दर्शकले उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र समग्र सिनेमा अनुभव लिन पाउनेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech