काठमाडौं : भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ।
भव्य निर्माणका लागि चिनिने भुवन केसीले यसपटक पनि गीतको छनोट र छायांकनमा आफ्नो पुरानै शैलीलाई निरन्तरता दिएका छन्। ‘मेरो मन चोर्यौ सुटुक्कै’को अडियो श्रुतिमधुर छ भने भिडियो पनि रोचक ढंगले तयार पारिएको छ। अन्य गीतका भिडियोभन्दा फरक, यसले फिल्मको टिजरमा देखाइएको कथा र परिवेशलाई थप अगाडि बढाउने प्रयास गरेको छ।
गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले दर्शकलाई पुरानो समयको सम्झना गराउँछन्। गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्।
फिल्मको टिजरमा अनमोलको लुक सार्वजनिक भएपछि धेरैले उनलाई उनका पिता भुवन केसीको झल्को दिने प्रतिक्रिया दिएका थिए। गीतले यो धारणालाई थप बल पुर्याउने देखिन्छ। गीतमा अनमोलको हाउभाउ र अभिनय शैलीले भुवन केसीका पुराना गीतहरूको सम्झना गराउँछ।
यही फिल्मबाट डेब्यु गर्न लागेकी प्रिन्सीले पनि आफ्नो अभिनय र अभिव्यक्तिमार्फत दर्शकको ध्यान खिचेकी छन्। गीतका शब्दअनुसार उनले प्रस्तुत गरेका हाउभाउ र अभिव्यक्तिमा पुरानो समयकी अभिनेत्री कृष्टि केसीको झल्को पाइन्छ।
भुवन केसीको दोस्रो निर्देशकीय फिल्म ‘बाटुलो जुन’मा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।
https://youtu.be/X-FHSF8CbXA?si=guVm6Xrnvpn6Kydb
फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा सहनिर्माता छन्।