‘अक्षरा’बाट बढ्यो पुस्करको व्यस्तता, ‘बाकस’मा अनुबन्धित

काठमाडौं : हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत नयाँ फिल्ममा अनुबन्धित भएका छन्। शनिबार फिल्मका निर्देशक नवीन पन्तले राउतलाई आफ्नो आगामी फिल्म ‘बाकस’मा अनुबन्ध गरेका हुन्।

राउतलाई फिल्ममा कुन भूमिकामा प्रस्तुत गर्न लागिएको हो भन्ने विषयमा निर्देशक पन्तले खुलाउन चाहेनन्। उनले भने, “फिल्मको कथावस्तुअनुसार नै उहाँलाई अनुबन्ध गरिएको हो। उहाँको भूमिकाबारे पछि भनौँला।”

पुस्करको हलमा प्रदर्शन भइरहेको फिल्म ‘अक्षरा’ पहिलो भने होइन। यसअघि उनले ‘कम्पन’, ‘एकलव्य’ र ‘आँधी तुफान’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। दर्शकमाझ छुट्टै पहिचान बनाएका अभिनेता राउत अब ‘बाकस’मार्फत दर्शकमाझ प्रस्तुत हुनेछन्।

यसअघि नै फिल्ममा महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा र सुपला सापकोटालगायत कलाकार अनुबन्ध भइसकेका छन्।

सुजिता चौलागाईंको निर्माण रहने फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन्।

फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीतका शब्द तथा रचना दीपक शर्मा र निर्देशक पन्तले गर्नेछन्।

आगामी महिनादेखि छायांकनमा जाने फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ हुन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी किरण दाहालले सम्हाल्नेछिन्। फिल्मको प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech