‘१२ गाउँ २’का गीतमा एक्सनसँगै प्रेमको झल्को

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म ‘१२ गाउँ २’ प्रदर्शनको संघारमा पुगेसँगै यसको प्रचार सामग्रीले दर्शकको ध्यान तानिरहेको छ । एक्सनप्रधान टिजरबाट चर्चा बटुलेको फिल्मले पछिल्ला गीतमार्फत आफ्नो रोमान्टिक र भावनात्मक पक्ष पनि खुलाउँदै लगेको छ ।

फिल्मको प्रचार यात्रामा सार्वजनिक भएको पहिलो गीत ‘जुनेली’ थियो । सुगम पोखरेलको स्वर रहेको गीतमा समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको थियो । गीतमा उनीहरूको नृत्यसँगै समीरको डान्स र ब्रेकडान्सले पनि चर्चा पाएको थियो ।

त्यसपछि सार्वजनिक ‘लालीगुराँस’ले फिल्मको प्रेमकथालाई थप नजिकबाट प्रस्तुत गर्‍यो । एक्सनले भरिएको टिजरपछि फिल्ममा द्वन्द्व र बदलाको कथा मात्रै रहेको हुन सक्ने अनुमान भइरहेका बेला ‘लालीगुराँस’ले समीर र कृशुको प्रेमिल जोडीलाई केन्द्रमा राख्दै फिल्मको रोमान्टिक पाटो पनि महत्वपूर्ण रहेको संकेत गरेको थियो ।

यही क्रमलाई अगाडि बढाउँदै बुधबार ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । यसले अघिल्ला प्रचार सामग्रीभन्दा फरक अनुभूति दिने प्रयास गरेको देखिन्छ ।

फिल्मलाई एक्सनप्रधान रूपमा प्रस्तुत गरिए पनि गीतहरू सार्वजनिक हुँदै जाँदा यसको कथामा प्रेम, भावना र पारिवारिक सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको संकेत मिलेको छ ।

विशेषगरी ‘रेशमी रुमाल’को प्रस्तुतिले गीतलाई केवल प्रचार सामग्रीका रूपमा नभई कथाको भावनात्मक पक्षसँग जोड्ने निर्माण पक्षको प्रयास देखाउँछ । ‘जुनेली’ले समीर–कृशुको जोडीलाई दर्शकमाझ चिनाएको थियो भने ‘लालीगुराँस’ले उनीहरूको प्रेमलाई थप नजिक ल्याएको थियो । अब ‘रेशमी रुमाल’ले विराज र वर्षाको सम्बन्धलाई अर्को तहमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

‘१२ गाउँ २’को मुख्य आकर्षण भने एक्सन नै हो । टिजर सार्वजनिक हुँदा निर्माण पक्षले एक्सन, द्वन्द्व र बदलाको कथालाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको थियो । तर गीतहरू सार्वजनिक हुँदै जाँदा फिल्ममा एक्सनसँगै प्रेम, भावना र पारिवारिक सम्बन्धको पाटो पनि रहेको देखिएको छ ।

यसले फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढाएको छ । एक्सन फिल्मको अपेक्षासहित हल पुग्ने दर्शकले द्वन्द्वसँगै प्रेमकथा र भावनात्मक उतारचढाव पनि अनुभव गर्न पाउने संकेत प्रचार सामग्रीले गरेको छ ।

फिल्ममा विराज, समीर, कृशु र वर्षाका अलावा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

दशैंको अवसरमा असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले नेपाली फिल्मको ठूलो चाड मानिने दशैंको माहोलमा दर्शक तान्न एक्सन, प्रेम र नयाँ पुस्ताका कलाकारसँगै विराज भट्टको ब्रान्डलाई प्रमुख आधार बनाउने देखिन्छ ।

फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।

https://youtu.be/9dsd7qa41fc?si=8vjYZqRispn9ehM7

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech