‘अक्षरा’को ‘भाग्यले होकी’मा भावुक न्यान्सी

काठमाडौँ । फिल्म ‘अक्षरा’को स्याड सङ ‘भाग्यले होकी’ सार्वजनिक भएको छ । फिल्म प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा निर्माण टिमले शुक्रबार रिलिज हुने फिल्मको नयाँ गीत सार्वजनिक गरेको हो ।

रचना रिमालको स्वर रहेको गीतमा न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई भावुक अवतारमा प्रस्तुत गरिएको छ ।

‘भाग्यले होकी मलाई जिन्दगीले ढाँट्यो’ भन्दै न्यान्सीलाई पीडामा देखाइएको गीतको भिडियोमा सुशील र रिस्ता पनि भावुक देखिन्छन् । गीतमा देखाइएको सम्बन्ध र घटनाक्रमको वास्तविकता भने फिल्म प्रदर्शनपछि मात्रै खुल्नेछ ।

गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ । बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन् ।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् ।

फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन् । सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दिपेन बस्न्यातले छायांकन गरेका छन् भने सम्पादन गौतम खड्काले गरेका छन् ।

नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्मको नेपालभर वितरणको जिम्मेवारी लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

https://youtu.be/70WUVP4fR6A?si=Pewz1vk4Xla3fZnD

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech