‘कबड्डी’ शृंखलाका अघिल्ला भाग काजीले मैयाँलाई पाउन गरेको संघर्षमा केन्द्रित थिए । तर पाँचौँ भागमा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ– प्रेम पाएपछि जीवन कसरी चलाउने ? अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनको तयारीमा छ । पाँचौँ भागमा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने दयाहाङले बताएका छन् ।
उनका अनुसार यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयको प्रभाव देखाइनेछ । प्रेम प्राप्तिपछि सुरु हुने व्यावहारिक जीवन र त्यसका लागि गर्नुपर्ने सम्झौता काजीको कथाको महत्वपूर्ण पाटो बनेको उनले बताए ।
‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ उनले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’
पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि क्रमशः परिवर्तन भएको दयाहाङको भनाइ छ । त्यसैले यसपटक दर्शकले विगतका भागभन्दा केही फरक काजी देख्न पाउनेछन् ।
मैयाँ फर्किएपछि फेरिएको काजी
‘कबड्डी’ शृंखलाको सुरुदेखि नै मैयाँसँगको सम्बन्ध काजीको कथाको महत्वपूर्ण पक्ष रहँदै आएको छ । पाँचौँ भागमा फेरि मैयाँसँग भेट हुँदा काजीको मनमा पुरानो प्रेमले हलचल ल्याउने दयाहाङ बताउँछन् । तर यसपटक उसको प्राथमिकता पहिलेझैँ प्रेम प्राप्तिमा मात्र सीमित नरहेको उनले बताए ।
‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ उनले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’
आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ जीवनमा पुनः फर्किएपछि काजीमा एकपटक पुरानो प्रेमको हलचल देखिने उनको भनाइ छ । तर त्यससँगै परिवार, साथीभाइ र समाजको आवश्यकतालाई पनि उसले बुझ्दै जानेछ ।
‘हरेकको जीवनमा त्यो हुन्छ होला नि । एउटा उमेरसम्म यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ भन्ने हुन्छ । एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने ।
काजीको जीवनमा राजनीतिका प्रभाव
‘कबड्डी ५’ मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देख्न पाइने दयाहाङले बताएका छन् । यद्यपि फिल्ममा राजनीतिक विषयलाई केन्द्रमा नराखिएको उनको भनाइ छ ।
‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन ।’
उनका अनुसार समयसँगै आएको राजनीतिक परिवर्तनले काजीको मनोदशामा पार्ने प्रभाव भने फिल्ममा देख्न सकिनेछ ।
यसअघिका भागमा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा पार्ने प्रभाव कस्तो हुन्छ भन्ने प्रश्नको जवाफ भने फिल्म हेरेपछि मात्रै पाउने दयाहाङले बताए ।
‘पाँचसम्म आइपुग्दा काजी मेरै साथी हो जस्तो लाग्छ’
काजीको चरित्रसँग लामो समयदेखि जोडिएर काम गरेका कारण आफूलाई उक्त पात्रप्रति छुट्टै अपनत्व महसुस हुने दयाहाङले बताए ।
१५ वर्षअघिदेखि काजीको चरित्रसँग काम गर्दै आएका उनलाई अहिले काजी पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको छ ।
‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।
दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय आफूलाई निकै कठिन लागेको उनले स्मरण गरे । तर लामो यात्रामा पात्रलाई हेर्दा मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीलाई पनि अगाडि बढाउँदै लगेको उनको भनाइ छ ।
‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’
पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको १५ वर्षको जीवनयात्रासँग काम गर्न आफूलाई रमाइलो लागेको दयाहाङले बताए ।
काजीको कथा अझ पर लैजाने सोच
काजीसँगको लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रहरूको कथा अझ परसम्म लैजाने सोचसमेत आफूमा रहेको दयाहाङले सुनाए ।
‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।
निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले त्यस्तो कथा बनाउने सोच राखेको उनले बताए ।
‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।
लामो समय एउटै पात्रसँग काम गर्दा पात्रप्रति मोह जाग्ने र आफ्नै साथी जस्तो अनुभूति हुने दयाहाङको भनाइ छ ।
‘१५ वर्षअघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा त्यो पात्रप्रति माया लागेर आउने रहेछ, काजी अहिले हाम्रै साथीजस्तो फिल हुने हुन्छ ।’