‘अक्षरा’को प्रचारमा २५० बढी साइकल यात्री

आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को प्रचारप्रसारलाई तीव्र पारिएको छ। फिल्मको प्रचारका लागि आइतबार कीर्तिपुरबाट २५० भन्दा बढी साइकल यात्रीले ‘अक्षरा’ अंकित टी–सर्ट लगाएर कपनस्थित क्लब मण्डलासम्म साइकल र्‍याली गरेका छन्।

फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै र्‍याली आयोजना गरिएको निर्देशक विनयराज पौडेलले बताए। प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मलाई बढीभन्दा बढी दर्शकमाझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

र्‍यालीमा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउतसहित फिल्मका निर्माता तथा निर्माण पक्षको उपस्थिति थियो।

युनिभर्सल सर्टिफिकेट प्राप्त ‘अक्षरा’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने फिल्म हो। २ घण्टा १४ मिनेट लामो फिल्मले ‘छोरीले सुख पाउँछे’ भन्ने सोचका साथ नचिनेको धनी केटासँग विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्याको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्ममा न्यान्सी खड्कासहित सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता उग्रसेन स्वयंले लेखेका हुन्।

फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दीपेन बस्न्यातले खिचेका छन् भने सम्पादन गौतम खड्काले गरेका छन्।

नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्मको नेपालभर वितरणको जिम्मेवारी लिएका छन्। फिल्मको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech